सेनाद्वारा फास्ट ट्रयाक निर्माण कार्यमा तिव्रता, स्थानीयबासी उत्साहित

७ पौष, २०७४
बारा : राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणले गति लिएको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएसँगै द्रुतमार्गको कामले गति लिएको हो ।

फास्ट ट्रयाकको कामलाई तिव्रता दिँदै नेपाली सेनाले विभिन्न ठाउँमा शिविर स्थापना गरेर चार लेनभित्र पर्ने रुख काट्न शुरु गरेको छ । फास्ट ट्रयाक निर्माण हुने मार्ग निजगढ र बुधुनेमा मात्र ठूला रुख छन् ।

काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउँदै अहिले जिरो किलोमिटरबाट रुख कटान सुरु गरेको र छिटै सडक निर्माणको काम शुरु गरिने नेपाली सेनाका सहायक रथी भरतबहादुर खड्काले जानकारी दिए ।

खोलिएका सडकका ट्रयाक सफा गर्ने, सम्याउने र मोडहरु मिलाउने काम करिब अन्तिम चरणमा पुगेको छ । ईन्जिनियरले गरेको डिजाइनअनुसार कामलाई गति दिन लागि परेको सहायक रथी खड्काले बताए । उनले राष्ट्रिय गौरवका योजनालाई गुणस्तरीय बनाउँदै चार वर्षभित्र काम सक्ने लक्ष्य राखिएको जानकारी दिए ।

फास्ट ट्रयाक निर्माण गर्न नेपाली सेनाले आफ्नै जनशक्ति प्रयोग गरिरहेको छ । तर द्रुत गतिमा काम गर्न आवश्यक दक्ष जनशक्ति बाहिरबाट पनि ल्याएर काम गर्न सकिने सेनाले जनाएको छ । नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको कामलाई गति दिएसँगै स्थानीयबासिन्दा र सरोकारवाला पक्ष उत्साहित बनेका छन् ।

राजधानी जोड्ने राष्ट्रिय राजमार्गहरु लामा र खर्चिला छन् । त्यसमाथि दैनिकजसो राजमार्गमा दुर्घटनासमेत हुने गरेका छन् । सरकारले अघि बढाएको राष्ट्रिय गौरवको आयोजना द्रुतमार्ग निर्माण सम्पन्न भएसँगै यी सबै समस्याको समाधान हुनेमात्र होइन, तराईका जिल्लाको जीवनस्तरमा सुधार ल्याउनसमेत महत्वपूर्ण सावित हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *