गायक बन्छु भनेर सोचेको थिईन : सौगात ओझा

बिधुत्मा रैका,
कोहलपुर, असार १९,

प्राकृतिक सांस्कृतिक तथा विविध रुपले आकर्षक रहेको सुदूरपश्चिमका नौ जिल्लामा सोचे जस्तो भौतिक पूर्वाधार विकास अझै पनि हुन सकेको छैन । भौतिक पूर्वाधार नभएकाले यहाँका स्थानीयको जनजीवन अगाडी आउन सकेको छैन । यि जिल्लाहरु पर्यटकिय हिसाबले निकै आकर्षक बनाउन सकिन्छ । यसमा पनि कला साहित्यको ठुलो सम्भावना रहेको छ । यस्तै सम्भावना बोकेको सुदूपश्चिमको एउटा सुन्दर जिल्ला हो डोटी ।

भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला जैविक, सामाजिक, साँस्कृतिक तथा विविधताले भरिपूर्ण रहेको छ । डोटी जिल्लामा हिमाली, पहाडी, तथा तराई क्षेत्रमा बसोवास गर्नेहरुको रहनसहन देख्न पनि सकिन्छ । पर्यटकीय क्षेत्र खप्तडको काखमा रहेको डोटी जिल्ला प्राकृतिक संसाधनहरुमा असाध्यै धनि भएकाले भविष्यमा विकासका अनेकौं सम्भावनाहरु पहिल्याउन सकिन्छ । यो जिल्ला कला, साहित्य, गीतसंगीतका लागी पनि निकै लोकप्रिय मानिएको छ । डोटीको जोरायलमा जन्मेका सौगात ओझा पछिल्लो समय गीतसंगीतमा निकै चर्चित रहेका छन् ।

तत्कालिन सरस्वती नगर तथा हालको जोरायल गाउँपालिका सैनेरी लेकमा वि.सं. २०४३ साल माघमा जन्मेका ओझाको नाम देशैभरि लोकप्रिय बनेको छ । उनले गायका थुप्रै गीतहरु निकै लोकप्रिय र चर्चित छन् । अभाव र अन्धकारमा बाल्यकाल बिताएका गायक ओझालाई कलाकारिता क्षेत्रमा आउने कहिल्यै लागेको थिएन । उनी भन्छन्,–‘बाल्यकालमा सायद म कलाकारिता तिर लागौला भनेर सोचेको थिईन । तर जब मैले नेपाली चलचित्र पहिलो पटक हलमा गएर हेरे त्यसपछि म कलाकार नै बन्छु भन्ने अठोट लिए ।’ कलाकारिता क्षेत्रमा आउन उनलाई घर परिवारको भरपुर साथ छ । सानो छदा कुनै ठाउँमा उनले गीत गाउँदा अरुले राम्रो छ भन्ने गर्थे । तर उनलाई पटक्कै विश्वास लाग्थेन ।

आफ्नै स्वर राम्रो छ भनेर विश्वास नगर्ने ओझोको नाम अहिले देश भरि फैलिएको छ । यो क्षेत्रसम्म आईपुग्दा उनले धेरै संघर्ष गर्नुपरेको बताए । उनका अगाडी दुख तथा पिडाका ठुल्ठुला पहाडहरु थिए । उनले ति पहाड छिचोल्दै यहाँ सम्म आईपुगेका छन् । उनले भने,–‘म धेरै पटक मरेर बाचेको छु । रुखबाट लडे, खोलामा बगे, भिरबाट लडे, आगोमा परे, चली रहेको टेम्पोबाट खसे धेरै मृत्युहरु जिते ।’ गायक ओझाले आफूले मृत्युलाई विजयी गरेपनि आफ्नी आमा र छोरीलाई भने मृत्युबाट बचाउन सकेनन् ।

वि.सं. २०७१ साल असोज २० गते ठूलो बस दुर्घटना भयो । जहाँ उनले आफ्नी जननी र ६ वर्षकी छोरी गुमाए । गायक ओझाकी जीवन सारथी सम्झाना ओझा र छोरी अमिसा ओझा घाइते भए । त्यो कहाली लाग्दो दिन सम्झिदा उनी अहिले पनि भक्कानिएर रुन्छन् । उनले आफ्नो जीवनमा भएको कहाली लाग्दो घटनालाई गीत मार्फत पोखेका छन् । बाल्यावस्थादेखि मुटुको समस्या खेप्दै आएका उनको मुटुको भल्भ खराब भएको बताए । उनले भने,–‘औसधिले बाचेको ज्यान छ । आज होकि भोलि तर पनि समय सङ्गै चलिरहेको छु । जति बाहिर हासो खुसी छ, त्यो भन्दा बढी पिडामा बाचिरहेको छु ।’

उनी गीतसंगीतमा लागेको करिब ६ वर्ष भयो । उनले पहिलो गीत मन भित्र तिमी छौ तिम्रै झल्को आउँछ, भन्ने बोलको गीत बजारमा ल्याए जसमा उनको आफ्नै शब्द सङ्गीत र देबि घर्ती र उनकै आवाजमा छ । पहिले त उनको फिल्म क्षेत्रमा जाने एकदमै ठुलो धोको थियो । यसकारण उनले धेरै फिल्ममा एउटा सानो रोल खेल्न पनि भाडा माझ्ने देखि सबै काम गरे । उनले भने,–‘मैले फिल्म नै खेल्नको लागी भाडा समेत माझे यस्ता धेरै काम गरे । यस्तो काम गर्दा म गीत गाउने गर्थे । एक दिन सुटिङकै बेला भाडा माझिरहँदा एक जना अर्जुन सिलवाल सरले मेरो आवाज सुन्नुभयो । उहाँले नै मलाई यो क्षेत्रमा ल्याउने प्रयास गर्नुभयो उहाँकै कारण आज म गीतसंगीतमा छु ।’

उनी सानैदेखि सडक नाटक मा सक्रिय थिए । फिल्म तिर उनको रुची भएपनि दर्शक तथा स्रोताहरुले उनका गीत नै मन पराएपछि उनी गीत गाउन थाले । गीत गाएर उनले सोचे जसरी परिवार पाल्न सकेका छैनन् । उनी भन्छन्,–‘अहिले धेरै गारो छ । एउटै गीतको लागी धेरै लाख खर्च गर्नुपर्छ । तर आउने स्रोत छैन । प्रतिष्पर्धाको जमाना छ । म संगका धेरै साथीहरु हराएका पनि छन् । म जसो तसो दुख पिडा सहेर भएपनि लागी परेको छु । हामी जस्तो सामान्य आर्थिक अवस्था भएकोलाई गीत गाएर बाँच्न मुस्किल छ ।’ उनीसंग गीतसङ्गीयस क्षेत्रमा लाग्दा लोकप्रिय तथा चर्चित भएको तथा जीवनको राम्रो अनुभव छ । हालसम्म उनी कार्यक्रमको लागी धेरै ठाउँ घुमिसकेका छन् । उनले भने,–‘६ वर्षको अवधीमा धेरै ठाउँमा पुगे । धेरै ठाउमा जादा धेरैको माया पाए । मञ्चमा धेरैको अगाडी जब ताली बज्छ, जिन्दगीको सब भन्दा ठूलो खुसी लाग्छ ।’

कला क्षेत्रमा लाग्दा धेरै दुख पिडाहरु सहनु परेको उनले बताए । धेरै ठाउँबाट धोका समेत पाएको तितो अनुभव सुनाए । कम्पनिदेखि केही ठाउँमा पैसा नदिएको तथा आफुलाई ठगेको उनी बताउँछन् । यस्ता थुप्रै चुनौतीको सामाना गर्दै निरन्तर गीत संगीतमा लागिरहेको उनको भनाई छ । ओझाले अहिलेसम्म लगभग डेढ दर्जन जति गीतसङ्गीत बजारमा ल्याईसकेका छन् । उनले तिज गीत, दशैं तिहारका गीत, लोक दिहोरी, लोक पप गीतहरु आफ्नै शब्द सङ्गीत र स्वर बजारमा ल्याएका छन् । भने केही गीतहरु अरुले पनि गाएका छन् ।

सुदूरपश्चिममा सौगात ओझा जस्ता हजारौ प्रतिभाहरु छन् । यहाँ यस्ता प्रतिभा छन् जुन कुना–कुनामा लुकेका छन् । त्यस्ता प्रतिभालाई बाहिर ल्याउन कहि कतैबाट खासै पहल भएको पाईदैन । लुकेका प्रतिभाहरूको खोजी र अनुसन्धान तथा तिनीहरूलाई राष्ट्रिय जीवनमा चिनाएर उचित कदर गर्नुपर्ने जिम्मेवारी तपाई हामी सबैको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *