कांग्रेस अब पुनःनिर्माणको अवस्थामा पुगेको युवा नेताहरुको निश्कर्ष

६ पौष, २०७४

काठमाडौं : अघिल्लो महिना सम्पन्न प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बिर्सनलायक हार व्यहोरेपछि नेपाली कांग्रेसभित्र पुनःनिर्माणको पक्षमा आवाज उठ्न थालेको छ । विशेषगरि प्रभावशाली मानिएका युवा नेताहरुले नै कांग्रेस अब पुनःनिर्माणको अवस्थामा पुगेको निश्कर्ष निकालेका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित युवा नेता गगन थापाले आफुहरुलाई अब पार्टी पुनर्जागरण गर्ने जिम्मेवार पंक्ति भनेका छन् । काठमाडौँमा प्रभावशाली नेताहरुबीचको छलफलपछि थापाले भने, ‘हामी युवा नेता मात्र होईनौं पार्टी पुनर्जागरणको संकल्प गर्ने जिम्मेवार पंक्ति हौं ।’

बुधवार काठमाडौंको बानेश्वरमा कांग्रेस नेता चन्द्र भण्डारीको पहलमा भएको भेलामा कांग्रेसका जनप्रिय नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, रामहरि खतिवडाका अलावा विद्यार्थी नेता कुन्दन काफ्लेलगायतको उपस्थिति रहेको थियो । उनीहरुले पार्टीलाई अब जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको निष्कर्ष निकाले । सो छलफललाई कांग्रेस पुनःनिर्माणको सुरुवातका रुपमा लिइएको छ । भेलामा धनराज गुरुङले पार्टी सक्षम र सुदृढ बनाउन जनविश्वास आवश्यक रहेको भन्दै आफुहरुले विश्वासको मत जुटाएरै छाड्ने बताए ।

भेलाको अगुवाई गरेका नेता चन्द्र भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ’हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौँ ।’ छलफलमा उनीहरुले अहिले कांग्रेसले पाएको जनमतको सम्मान गरेर जिम्मेवार भई जनउत्तरदायित्व बहन गर्ने समेत प्रण गरेका छन् । उनीहरुले आफुहरुभित्रै नेतृत्व लिन तयार भएका व्यक्तिलाई कसैले अवरोध नगर्ने र दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

युवा नेताहरु पुनःनिर्माणको पक्षमा उभिए पनि संस्थापन पक्ष भने यसै अवस्थाबाट कांग्रेसलाई माथि उठाउन सकिने तर्क गर्दै आएका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले केहि दिन अघि नै पार्टि पदाधिकारीहरुको विना राजिनामा नै पार्टिलाई सुदृढ गराउन सकिने बताएका थिए ।

स्रोतका अनुसार युवा नेताहरु र कांग्रेस संस्थापन पक्षबिचको खाडल अझै गहिरिने अवस्था रहेको छ । यदि समयमै मिलाएर लान नसकिए कांग्रेसको साख अझै घट्ने देखिएको छ । कांग्रेस युवा नेताहरु पुराना गल्तिहरुको समेत गम्भिर समिक्षा गर्नुपर्ने बताउँदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *