हचुवाका भरमा हिरा कारोवार

६ पौष, २०७४
काठमाडौं : सुनभन्दा मूल्यवान हिरा कारोवार ‘हचुवा’ मा हुने गरेको पाइएको छ। मूल्य निर्धारण गर्ने तत्वको जाँच नै नहुने भएकाले अनुमानका आधारमा हिरा कारोवार भइरहेको छ।

हिरा मूल्य पत्ता लगाउन त्यसका चार वटा ‘सी’ को संयोजन अर्थात् क्यारेट, कलर, क्ल्यारिटी र कटिङको आधार (तौल, रङ, पारदर्शिता र आकार) तथा फिल्टरिङ (हिराका कण छान्ने)को वास्तविक मापन थाहा हुनुपर्दछ। यसमध्ये क्यारेट मात्रा तौलेर पत्ता लाग्छ भने अन्य तीन ‘सी’ प्रयोगशालामै परीक्षण गर्नुपर्ने सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। यो प्रयोगशाला नेपालमा छैन।

प्रयोगशाला नै नभएपछि हिरा कारोवारीले विना परीक्षण अनुमानका भरमा खरिद बिक्री गर्दै आएका छन्। ‘अनुभव र अध्ययनका आधारमा हिरा किनबेच हुन्छ,’ शाक्यले भने। महँगो वस्तुको मूल्य हचुवाका भरमा निर्धारण गरिनुले उपभोक्ता मारमा पर्ने सरोकारवालाको भनाइ छ। ‘हिरा टुक्राको परिक्षण नै गाह्रो छ। अन्य गहनामा जोडिएको हिरा त झन् सक्कली–नक्कली समेत पत्ता लगाउन मुश्किल हुन्छ,’ नाम नखुलाउने शर्तमा एक व्यवसायीले भने।

शाक्य भने तौलेर र हेरेर पनि हिराको गुणस्तर अनुमान गर्न सक्ने दावी गर्छन्। ‘हामीले विदेशमा गएर लिएका तालिम, सिकाइ र अनुभवका आधारमा तय गर्ने मूल्य परिक्षणपश्चातको मूल्यभन्दा धेरै फरक पर्दैन’ उनले दावी गरे। यद्यपी ग्राहक र व्यवसायी दुवै ढुक्क हुन प्रयोगशाला अत्यन्त जरूरी भएको उनको भनाइ छ। सरकारसँग ल्याव माग गरे पनि कुनै सुनुवाइ नभएको उनी बताउँछन्।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनका अनुसार २५ सेन्टभन्दा कम परिमाणको हिरा अनुमानकै भरमा कारोवार हुन्छ। विशेषतः यस्ता हिरा अन्य गहनामा जोडेर आकर्षक बनाउन प्रयोग गरिन्छ। योभन्दा बढी सेन्टको ‘सिंगल पिस’ हिरा भने प्रमाणपत्रका आधारमा कारोवार हुने उनी बताउँछन्। एक क्यारेट बराबर एक सय सेन्ट र ५८ क्यारेट बराबर एक तोला हुने उनले जानकारी दिए।

तोकिएभन्दा ठूलो टुक्रा किन्दा चार ‘सी’ को मात्रा उल्लेख भएको प्रमाणपत्र र त्यसको दर्ता नम्बर उपलव्ध हुने महर्जनले बताए। नम्बरका आधारमा इन्टरनेटमा पनि उक्त हिराबारे हेर्न सकिने उनले जानकारी दिए। ‘हामीले हिरा किन्दा प्रमाणपत्र लिन्छौं, बेच्दा ग्राहकलाई दिन्छौँ,’ उनले भने ‘त्यसमा हिराको चार ‘सी’ को मात्रा र दर्ता नम्बर हुुन्छ।’ यस्ता प्रमाणपत्र विभिन्न जिमोलोजी इन्स्ट्च्यिुटले परिक्षणपछि तयार गर्छन्। थोरै परिमाणका निम्ति प्रमाणपत्र छपाइ लागत धेरै पर्ने भएकाले २५ सेन्टभन्दा तलको टुक्रामा नआउने उनले बताए।

‘२५ सेन्टभन्दा कमको टुक्रा अति नै सानो हुन्छ। त्यसैले धेरै जसो अन्य गहनामा जोडिन्छ। हामीकहाँ माग आउने पनि यस्तै जडानकै निम्ति हो। तर, यस्ताको चार ‘सी’ थाहा हुँदैन’ उनले भने। पछिल्लो समय सुन गहनामा हिरा जडान गर्ने चलन बढेको तर त्यसको वास्तविक गुणस्तर थाहा नहुनाले ठगी हुन सक्ने व्यवसायीहरू स्वीकार्छन्। ‘कतिपयले उस्तै देखिने ‘जिर्कोनियम’ जडान गरेर हिरा भनिदिन सक्छन्। ल्याव नहुँदा ठग्नेलाई प्रोत्साहन मिलेको छ,’ अर्का एक व्यवसायीले भने।

सरकारले प्रयोगशाला ल्याउने प्रयास गरे आफूहरूको पूर्ण सहयोग रहने अध्यक्ष महर्जन बताउँछन्। प्रमाणपत्रविना हिरा नकिन्न पनि उनी सुझाउँछन्। ‘कुनै हिरा अहिले किनेर पछि बेच्नु पर्दा किनेको आसपासमा मूल्य आउँदैन भने ठगिएकै ठहर्छ,’ उनले भने, ‘प्रमाणपत्र भएको टुक्रा किन्नेलाई हामी ९० प्रतिशत बढी ग्यारेन्टी दिन्छौं।’ महर्जनका अनुसार अन्तर्राष्ट्रिय जगतमा हिराको मूल्य सुनजस्तै क्षणभरमै घटबढ हुँदैन। ‘र्यापनेट’ ले साप्ताहिक रुपमा मूल्य निकालेको हुन्छ। ‘त्यही मूल्य संसारभर लागू हुने हो। न्यून दरमा मात्र मूल्य बढेको पाइन्छ। त्यस्तो उतारचढाव हुँदैन’ महर्जनले भने।

हिरा खरिदबिक्रीका निम्ति ‘र्यापनेट’ अन्तर्राष्ट्रियस्तरको उपयुक्त बजार हो, जहाँ खरिद र बिक्री गर्नेहरू एकैठाउँमा जोडिन्छन्। यहाँ चार ‘सी’ तय गरेर खरिद र बिक्रीको चापअनुसार मूल्य निर्धारण हुन्छ। नाफाकै निम्ति पनि व्यवसायीले यस्ता बजारमा कारोवार गर्ने महर्जनले जानकारी दिए।

उनका अनुसार हिरामा जम्मा एक प्रतिशत मात्रै भन्सार शुल्क लाग्छ। खुद्रा व्यापारीको नाफा जोड्दा र्यापनेटले तोकेभन्दा १० देखि १५ प्रतिशत बढी मूल्य पर्न सक्ने उनले बताए। परिक्षणविना कारोबार बढ्दै जानुले ठगी पनि प्रोत्साहन भएको सरोकारवालाहरू बताउँछन्।
(सेतोपाटीबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *