चिसो बढेपछि बहुचर्चित जोमसोम-कोरला सडक निर्माण प्रभावित

६ पौष, २०७४
मुस्ताङ – अत्याधिक चिसो बढेपछि मुस्ताङको जोमसोम–कोरला सडक निर्माणको काम प्रभावित भएको छ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना, कालिगण्डकी करिडोरअन्तर्गतको बहुचर्चित जोमसोम–कोरला सडकको काम चिसोले प्रभावित भएको हो ।

जोमसोमदेखि कोरलासम्म १ सय १० किलोमिटर सडक खण्डलाई सात खण्डमा विभाजन गरिएको छ । अहिले दुई वटा खण्डमा मात्र काम भइरहेको छ । जोमसोमदेखि झैतेसम्मको ५२ किलोमिटर सडकको ४ खण्ड र झैतेदेखि कोरलासम्मको ५८ किलोमिटर सडक ३ खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । अत्यधिक चिसो र हिमपातका कारण झैते–कोरला ५८ किलोमिटर सडकमा १ खण्ड र जोमसोम–झैते सडकको १ खण्डबाहेक बाँकी ५ खण्डको काम स्थगित गरिएको हो ।

अहिले दुई वटा खण्डमा मात्र काम भइरहेको आयोजनाका इन्जिनियर जगत प्रजापतिले जानकारी दिए । यता बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक खण्डको निर्माण कार्य भने तिव्र गतिमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *