आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न

५ पौष, २०७४
नेपालगञ्ज : नेपालगञ्जमा चलिरहेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बुधबार सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले गत मंसीर २८गते उद्घाटन गरेको महोत्सव बुधबार सकिएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, बाँकेले पठन संस्कृतिको विकास गर्नका लागि नेपालगंजमा पहिलो पटक प्रदर्शनी तथा महोत्सवको आयोजना गरेको हो । महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीले राजधानीमा वर्षेनी हुँदै आएको पुस्तक प्रदर्शनी तथा महोत्सवलाई बुटवल, धनगढी, झापा, चितवन, दाङ हुँदै नेपालगञ्जसम्म ल्याएको बताए ।

उनले प्रदर्शनीबाट मध्यपश्चिम तथा सुदरपश्चिमका पाठक तथा विद्यार्थीहरुलाई प्रत्यक्ष फाइदा पुगेको दावि गरे । ‘पाठ्यक्रम तथा साहित्यका गरि धेरैजसो पुस्तकहरु प्रदशर्नीमा राखिएका थिए ।’, उनले भने,’यसले पाठक तथा लेखकबिचको दुरी घट्नुका साथै आफुले चाहेका पुस्तकहरु एकै ठाउँमा पाइने भएपछि पुस्तक खोज्ने झन्झबाट पाठक तथा विद्यार्थीहरु मुक्त भएका छन् ।’

महासंघका महासचिव नवनिधि पन्तका अनुसार प्रदर्शनीमा राखिएका एक सय ४० बढी स्टलहरुमध्ये ७५ प्रतिशतभन्दा बढी स्टलहरुमा विभिन्न विधाका स्थानीय, राष्ट्रिय स्तरका पाठ्यपुस्तक, साहित्यिक कृति सहितका पुस्तकहरु राखिएको जानकारी दिए ।

सात दिनसम्म चलेको महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका अलावा विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय तथा कलेजस्तरीय विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको प्रचार संयोजक वसन्त लामिछानेले जानकारी दिए । उनका अनुसार महोत्सवमा लेखक, पाठक तथा प्रकाशकबीचको अन्तरक्रिया, नारी स्रष्टाहरुका अवसर र चुनौती तथा बहुभाषिक कवि गोष्ठी एवं कविता र वक्तृत्वकला प्रतियोगिताहरु समेत सञ्चालन गरिएका थिए ।

यसअघि महोत्सवको उद्घाटनका दिन शिक्षा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति प्राध्यापक डा.सुरेशराज शर्मा, चलचित्रकर्मी यादव खरेल, प्राज्ञ सनत रेग्मी र शिक्षा अभियन्ता हरिप्रसाद रावतलाई अभिनन्दन समेत गरिएको थियो ।

एक सातासम्म चलेको महोत्सव करिव २ लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *