वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ को मृत्यु,आगो निभाउन गएका २ कर्मचारी सम्पर्कविहीन

५ पौष, २०७४
वीरगञ्ज : वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा बिहान सवा ६ बजेतिरबमट आगलागी सुरु भएको हो । आगलागीमा परी हालसम्म २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जना सम्पर्कविहीन छन् । जोखिम बढेपछि नजिकको बस्ती समेत सारिँदै छ ।

आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । घाइते कामदार अम्मिका पटेल र दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । उनलार्इ उपचारका लागि गण्डक अस्पतालमा लगिएको छ ।

दमकलमा रहेका हवल्दार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । शवको पहिचान भएको छैन ।

बारा र रौतहटबाट प्रहरी टोली समेत घटनास्थलमा 

आगलागी नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रकहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा २/३ सय मिटर परै छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो नियन्त्रणमा लिन सकिएको छैन । आगो नियन्त्रणमा लागि बारा र रौतहटबाट समेत प्रहरी टोली घटनास्थल पुगेको पर्साका प्रहरी इन्चार्ज एसपी गणेश रेग्मीले बताए।

ग्यास लिक भएर आगलागी भएको बताइएको छ । ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रह्मनारायण जैसवालले बताए ।

सारिँदै नजिकको बस्ती

आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइँदैछ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ग्यास उद्योग नजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ । आसपासका बस्तीका मानिसहरू त्रसित भएका छन् । ग्यास बुलेट पड्किएको आवाज परसम्म सुनिएको छ। प्लान्ट जलेर निस्किएको धुँवाले आसपासको क्षेत्र समेत ढाकेको छ।

सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *