इपिएल क्रिकेट : पोखरा र विराटनगर विजयी

४ पौष, २०७४
काठमाडौँ : राजधानीमा जारी एभेरेष्ट प्रिमियर लिग इपिएलको दोस्रो दिन भएको खेलमा पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन् । आज भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटको भारी अन्तरले हरायो भने विराटनगरले ललितपुर पेट्रियट्सलाई ६ रनले पराजित गर्यो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा नौ विकेट गुमाउदै एक सय १३ रन बनायो । जवाफमा पोखरा राइनोजले १७ ओभर चार बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसको जितमा पाकिस्तानी खेलाडी इस्रा उल्लाहले अविजीत ६१ रन बनाए भने सुनिल धमलाले ४६ रनको योगदान गरे ।

आजै भएको अर्को खेलमा विराटनगरले ललितपुरको चुनौती पन्छ्याउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५० रन बनायो । उसका लागि कप्तान पारस खडकाले ३८ रन बनाए भने अनिल शाहले ४७ रनको योगदान गरे । यस्तै हङकङका खेलाडी बाबर हयातले ३४ र अन्सुमन राथले १४ रनको योगदान गरे ।

जवाफमा ललितपुर २० ओभरमा एक सय ४४ रनमा रोकियो । पहिलो खेलमा काठमाडौ किङ्सलाई सात विकेटले हराएको ललितपुरले आज भने राम्रो अन्त्य गर्न सकेन । उसका लागि पवन सराफले ५१ रन बनाए । यस्तै योगेश नागारले २७ तथा कुशल भुर्तेलले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकनेन् । प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *