मेगा बैंक र टुरिजम बैंक गाभिने

४ पौष, २०७४
काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो ।

सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैंकको प्रतिशेयर मुल्य १ सय रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए । चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँया रहेको छ ।

यी दुबै बैंक मर्ज भएपछि चुक्ता पूंजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए । टुरिजमले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेकाले छिट्टै मर्जर प्रक्रिया टुंगोमा पुर्याएर मेगा बैंकलाई नयाँ गतिमा लैजाने उनले बताए । ‘हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौं । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौं,’ उनले भने ।

मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजम डेभपलमेन्टसँगको मर्जरपछि मेगा बैंकको व्यावसायिक अवसरहरु बृद्धि हुने बताए । चालु आर्थिक वर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै उनले टुरिजमसँगको मर्जरपछि मेगा बैंकको संजाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्ने बताए ।

उनका अनुसार, मेगा बैंकको दुई वटा एक्सटेन्शन काउन्टरसहित ४९ वटा शाखा कार्यालय छन् भने चालु आर्थिक वर्षमा टुरिजमको ५ वटा एक्सटेन्शन काउन्टरसहित ४१ वटा शाखा पुग्दैछ । मेगा र टुरिजमको मर्जरपछि ११ वटा एक्सटेन्शन काउन्टरसहित १ सय १२ वटा शाखा कार्यालय हुने भएका छन् । यसैगरी, कुल कुल निक्षेप ४९ अर्ब ५० करोड र कर्जा ४५ अर्ब ५९ करोड रुपैंया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *