कारवाही गरिए पनि लेन अनुशासन मिच्नेको संख्या बढ्दो, एकैदिन ३ सय २४ चालकलाई कारवाही
४ पौष, २०७४
काठमाडौं : काठमाडौं उपत्यकामा सडक लेन अनुशासन उल्लंघनकर्तालाई ट्राफिक प्रहरीले कारवाही गर्दै आए पनि उल्लंघनकर्ताको संख्या घट्न सकेको छैन । दैनिकजसो ३ सयभन्दा बढी चालक लेन अनुशासन उल्लंघन गरेबापत कारवाहीमा पर्दै आएका छन् ।
सोमबार राजधानीमा लेन अनुशासन उल्लंघन गरेबापत ३ सय २४ चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । लेन अनुशासन उल्लंघनकर्तालाई जरिवानाका साथै सचेतना कक्षामा सहभागी गराइदैं आएको छ ।
सोमबार उपत्यकामा एक हजार ६ सय २४ चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेबापत कारवाहीमा परेका तीमध्ये मादक पदार्थ गरी सवारी चलाउने चालकको संख्या ६४ रहेको छ ।
महाशाखाका अनुसार सोमबार राजधानीमा १५ वटा दुर्घटना भए पनि मानवीय क्षति भएको छैन । ती दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् ।