नेपालगंजमा दीगो संरक्षणका लागि अभिमुखीकरण तालिम सुरु

३ पुस, २०७४
नेपालगंजः नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले सञ्चालन गर्न लागेको ‘पानी’ परियोजनाको अभिमूखीकरण तालिम सोमबारबाट नेपालगन्जमा सुरु भएको छ ।

तीन दिनसम्म चल्ले तालिममा मध्य र सूदूरपश्चिमका २४ जिल्लाका पत्रकार तथा कार्यक्रमसँग सम्बन्धित परियोजनाका कर्मचारी एवं परियोजना साझेदार संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

USAIDको सहयोगमा संचालित पाँच बर्षे परियोजनाले कार्य क्षेत्रका कर्णाली, महाकाली र राप्ती नदी तटिय क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्दै समुदायको जलवायु परिवर्तन अनुकूलन क्षमता अभिवृद्धि गर्नेे उद्देश्य राखेको छ ।

यो परियोजनाले मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रका २५ जलाधार क्षेत्र मध्ये १२ जलाधार क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्ने बताएको छ ।

तालिम उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालमा उपलब्ध प्राकृतिक स्रोत र साधनलाई समृद्धिको आधार बनाउनुपर्ने बताए । त्यस्तै, बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ताले नेपाललाई विश्वसामु चिनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताए ।

उद्घाटन समारोहमा समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्द्यालले सिमसार क्षेत्रको संरक्षण तथा व्यवश्थापनमा विशेष जोड दिनुपर्ने बताए । समूहका अध्यक्ष अर्जुन ढकालले यस भेगमा उपलब्ध प्राकृतिक स्रोतको संरक्षण र उपयोगमा सञ्चारका क्षेत्रबाट प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेफेजका महासचिब रमेशप्रसाद भुसालले नेपालमा प्राकृतिक स्रोतका विषयमा पर्याप्त सूचना र ज्ञान नहुँदा सम्भावना भएजति लाभ लिन नसकिएको बताए ।

 

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, बाँके राष्टिय निकुन्जका सहायक प्रमुख संरक्षण अधिकृत लालबहादुर भन्डारी लगायतले राखेका थिए भने यस परियोजनाका बारेमा परियोजनाका क्षेत्रीय कार्यक्रम निर्देशक भास्कर भट्टराईले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *