समस्या समाधान कहिले हुने ?
-रवि रोकाया
३ पौष, २०७४
कोहलपुर : राप्ती सोनारी गाउँपालिका वडा नं. १ का स्थानियहरु सामान्य विकास निर्माण तथा आधारभुत आवश्यकता समेत पुरा नहुँदा समस्या खेप्न बाध्य छन् । साविक खासकुश्मा गाविस वडा नं. ५ भम्कालाई हाल राप्ति सोनारी गाउँपालिकामा गाभिए पनि उक्त वडाका बासिन्दाहरु स्वच्छ खानेपानी, पुल, स्वास्थ्य, विद्युत सेवा लिनबाट लामो समयदेखि वन्चित हुनु परेको हो ।
भम्कालाई भौगोलिक हिसाबले विकट क्षेत्र मानिन्छ । स्थानीय तहको निर्वाचन ताका यो क्षेत्र र यहाँका समस्याले चर्चा पाए पनि अहिलेसम्म कार्यान्वयनको तहमा भने कुनै कदम नचालिएको स्थानिय भवन खुनाले बताए । खासकुश्मा निवासी शान्ति चापागाइले भनिन्,’सघं र प्रदेशको निर्वाचनमा पनि यि समस्याहरुले प्रथम स्थान पाए । तर नेताहरुले आफुहरुलाई भोट ब्यांकको रुपमा मात्रै लिएका छन् ।’
तर राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले विद्युत, स्वच्छ खानापानी तथा सिँचाईका आयोजना छिट्टै नै शुरु गर्न लागिएको जानकारी दिए । ‘हामीले स्थानीय स्तरमा र राष्ट्रिय स्तरबाट आवश्यकता अनुसारका योजनाहरु माग गरि निवेदन दर्ता भइसकेको छ ।’, राप्ती सोनारी वडा नं. १ वडा अध्यक्ष चन्द्र बहादुर वलीले भने,’कार्यान्वयनमा लैजाने हो तर निर्वाचनले गर्दा फलोअप गर्न सकेका छैनौ ।’
हाल सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका माधव राम खत्रिले स्थानिय समस्याहरुलाई न्यूनिकरण गर्न आफुले स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको पुल निमार्ण महाशाखामा निवेदन दर्ता गराइसकेको जानकारी दिए । सोहि क्षेत्रका स्थानिय समेत रहेका खत्रिले बैरीया ईलाका प्रहरी कार्यालय र अम्बुवा जोड्ने पुल निर्माणका लागि सरकारसँग बजेट माग गरिएको बताए ।
उनका अनुसार यसअघि खोगरी र बर्दापुर लौकी जोड्ने पुल निमार्ण भइसकेको छ ।