गौचनको हत्याः फिरौती नदिएकै कारण

काठमाण्डौं, २९ कार्तिक, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । व्यवसायी गौचनको असोज २३ गते खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

 

सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने अझै पनि फरार छन् । नेपाल प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता रहेको बताएको छ । विभिन्न अपराधिक घटनाहरुमा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । उनले देशबाहिरबाटै विभिन्नखाले अपाराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले बताएको छ ।

फिरौती नदिएकै कारण व्यवसायी गौचनको हत्या गरिएको प्रहरीको निश्कर्ष छ । हत्याराले गौचनसँग कति रकम मागेका थिए भन्ने अहिलेसम्म पनि केही खुलाइएको छैन । मागेजति फिरौती रकम नपाएपछि हत्याको योजना बनाएको र झण्डै एक महिनादेखि गौचनको निगरानी गरेको तथ्य खुलेको छ ।

पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङले नै गौचनलाई गोलि चलाएको प्रहरीले बताएको छ । यस्तै हत्यामा संलग्न भएको भन्दै भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो, सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पक्राउ परेका छन् ।

गौचन हत्यामा संलग्न रहेका समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् । उनीहरुको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *