२० कर्मचारीले गर्छन् सिंगो महानगरको फोहर संकलन

-विमर्श कँडेल

३ पौष, २०७४
चितवन : पहिले उपमहानगरपालिका रहेको भरतपुर २०७३ फागुन २७ बाट महानगरपालिकामा बढुवा भयो । हाल यो महानगरले कविलासदेखि गोलाघाटसम्मको फराकिलो क्षेत्र ओगटेको छ । जनसंख्या, भुगोल तथा सम्पदाको हिसाबले महानगर बने पनि साधन र संरचनाको हिसाबले भने यो नगरलाई महानगर भन्न एक पटक सोच्नुपर्ने हुन्छ ।

मानव स्वास्थ्यसँग दैनिकरुपमा गाँसिने फोहोरमैला संकलन तथा व्यवस्थापनको कुरा गर्दा के भरतपुर सबल छ त ?

भान्साकोठादेखि अन्य दैनिकीका क्रममा एउटै घरबाट धेरै फोहोर उत्पादन हुने गर्दछ । यसका अलावा उद्योग, कलकारखाना तथा व्यापार व्यवसायबाट निस्कने अनुपात त झनै बढि छ । भरतपुर महानगरमा बजार क्षेत्रभन्दा ग्रामिण क्षेत्र बढि रहेको भए पनि यहाँ अन्य क्षेत्रको तुलनामा अत्याधिक फोहोर उत्पादन हुने जानकारहरु बताउँछन् ।

तर महानगरको नामले छोए पनि काम र कार्यान्वयनले भने आफुँहरुलाई छुन नसकेको गुनासो गर्छन् सर्वसाधारणहरु पनि । त्यसमाथि फोहरको संकलन तथा व्यवस्थापनको हकमा भने महानगरपालिका मौन रहेको छ । केहि हदसम्म बजार क्षेत्रमा क्रियाशिल देखिए पनि भरतपुर बजार क्षेत्रबाट वरपर मात्रै लाग्ने हो भने पनि महानगरमा छु भनेर भन्न सक्ने अवस्था छैन ।

जति क्षेत्रबाट फोहर संकलन गरिएको छ त्यसलाई लगेर फाल्ने महानगरपालिकाको आफ्नै ल्याण्ड फिल्ड साइट समेत छैन । विवादका बिच जग्गा खरिद गरिए पनि त्यसले अझैसम्म मुर्त रुप पाउन सकेको छैन । हाल महानगरपालिकाले नारायणी नदी किनारस्थित नगरबनमा संकलित फोहरलाई लगेर गाड्ने गरेको छ ।

फोहर संकलनका लागि जम्मा २० कर्मचारी

महानगरपालिकाले हाल भरतपुर तथा नारायाणगढअन्तर्गत बजार क्षेत्रको फोहर संकलन गर्न निजी क्षेत्रलाई जिम्मा दिएको छ भने बाँकि क्षेत्रमा भने आफ्नै स्रोत र साधनको प्रयोग गरि फोहर संकलन गरिरहेको छ । भरतपुर र नारायणगढ बजार क्षेत्रबाट मात्रै ट्रयाक्टर र ट्रिपरको गरि दैनिक करिव ३५ देखि ४५ टिप फोहर संकलन हुने गरेको छ । यसरी फोहर संकलन गर्दा भरतपुर र नारायणगढ क्षेत्रबाट मात्रै करिव ४५ टन फोहर दैनिक संकलन गर्ने गरिएको महानगरपालिकाका सरसफाई शाखा प्रमुख लिलाराज खरेलले जानकारी दिए ।

महानगरपालिकाको क्षेत्रलाई हेरि अहिले उपलब्ध भएको स्रोत र साधन निकै कम भएको उनी स्विकार्छन् । महानगरपालिका भरिको फोहर संकलनका लागि करिव २० जना कर्मचारी तथा केहि थान ट्रयाक्टर र ट्रिपरमात्र रहेको खरेलले बताए । महानगरपालिकाले भित्री बजार क्षेत्रमा अझै पनि फोहोर संकलनका लागि सेवा विस्तार गर्न सकेको छैन ।

तर महानगरप्रमुख रेणु दाहाल भने आफुहरुले सेवा विस्तार गर्न प्रयास गरिरहेको बताउँछिन् । भरतपुरको अझै पनि नगरसभा गर्न नसकिएकोले जनाप्रतिनिधिले पनि काम गर्ने वातावरण नबनेको र महानगरले पनि नियमित बाहेक अन्य विस्तारित योजना बनाएर काम गर्न नसकेको उनले बताइन् ।

उनले सरसफाई तथा फोहोर व्यवस्थापनमा महानगरपालिका गम्भिर रहेको र छिट्टै नै यस सम्बन्धमा काम भएको नगरवासीले अनुभुत गर्न पाउने दावि गरिन् । सुरुमै भरतपुरका सबै क्षेत्रमा एकै पटक काम गर्न नसकिए पनि सेवा, कर्मचारी तथा साधनलाई क्रमशः विस्तार गर्दै लगिने जानकारी दिइन् । संकलित फोहरको प्रशोधन तथा पुनः प्रयोगका लागि पनि कार्यालयले योजना बनाईरहेको भनको भनाई थियो ।

फोहोर फालेमा १ लाख सम्मको जरिवाना
भरतपुर महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोर गर्नेलाई कारवाहिको दायरामा समेत ल्याउने गरेको बताउँछन् सरसफाई शाखा प्रमुख खरेल । उनका अनुसार फोहोरको प्रकृति हेरि महानगरपालिकाले जरिवानाको निर्धारण गरेको छ ।

 

सामान्य किसिमका फोहर फालेको पाईएमा न्युनतम ५ हजार देखि १० हजार रुपैयाँसम्म र विषदियुक्त तथा अस्पतालबाट निस्कने गम्भिर किसिमका फोहोरहरु फालेमा ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । उनले भने,’त्यस्तो कार्यमा संलग्न रहेकाको सुचना दिनेलाई प्रोत्साहनस्वरुप महानगरपालिकाले जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने समेत व्यवस्था गरेको छ ।’

आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत मंसिर महिनासम्ममा भरतपुर १०, चौबीसकोठीमा सञ्चालनमा रहेको एक औषधि बिक्री गर्ने फर्मा तथा सरसफाईमा क्रियाशिल वे ग्रुपको सिफारिसमा २ स्थानियलाई गरि ३ जना कारवाहिमा परेको महानगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्था ऐन तथा पुरानो स्थानिय स्वायत्त शासन ऐनको व्यवस्थामा टेकेर महानगरपालिकाले यो निर्णय कार्यान्वयनमा ल्याइरहेको छ ।

‘हाइवे सरसफाई अभियान’ सम्पन्न

दैनिक रुपमा निजी तथा महानगरपालिकाका कर्मचारीहरु भरतपुर तथा नारायणगढ बजार क्षेत्रको सरसफाईमा खटिने भए पनि महानगरपालिकाले विशेष अभियानस्वरुप सोमबार राजमार्ग वरपरको क्षेत्र सरसफाई गरेको छ । ‘हाइवे सरसफाई अभियान’ नाम दिईएको सो कार्यक्रमअन्तर्गत भररतपुरको गोन्द्राङदेखि नारायणगढको पुल्चोकसम्मको राजमार्ग सोमबार सफा गरिएको हो ।

 

महानगरपालिकाका सरसफाई शाखा प्रमुख खरेलले राजमार्ग क्षेत्रलाई ३ खण्डमा क्रमशः गोन्द्राङदेखि मिलनचोकसम्म, केन्द्रिय बस टर्मिनलदेखि चौबिसकोठी तथा लायन्स चोकदेखि पुल्चोकसम्म विभाजन गरि सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा भरतपुर महानगर प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, नेपाल प्रहरी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी, वडा समितिहरु, टोल विकास संस्थाहरु, सरसफाईमा क्रियाशिल विभिन्न संस्था तथा समूहहरु, स्थानिय तथा महानगरपालिकाका कर्मचारीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *