७/८ जना युवा मिलेर सूरु गरेको अभियान ८५औँ श्रृंखलामा

-विमर्श कँडेल

३ पौष, २०७४
चितवन : ७/८ जना युवा मिलेर सूरु गरिएको एक समूहको सरसफाई अभियान ८५औँ श्रृंखलासम्म पुगेको छ ।

विगत डेढ वर्षदेखि चितवनको भरतपुरमा सरसफाई एवम् सामाजिक कार्यमा सक्रिय समूह ‘WE ARE THE YOUTH’ अर्थात ‘वे ग्रुप’ले विभिन्न स्थानमा सरसफाई गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिईरहेको छ । साताव्यापी रुपमा फरक फरक स्थानमा सरसफाई गर्दै आएको समूहले सोमबार भरतपुर-४ स्थित लंकु चिसापानी तथा भरतपुर-१० स्थित रिजाल चोक आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ र ५ का वडा प्रमुखहरु क्रमशः हरि आचार्य पदमपाणि सुवेदि, स्थानीय समाजसेवी गोकर्ण निवास त्रिपाठि एवम् स्थानियवासीहरुको समेत प्रत्यक्ष सहभागितामा रहेको सो कार्यक्रममा लंकू चिसापानीको मुल नहर भित्र र आसपास सरसफाई र अनुगमन गरिएको छ ।

८५ औँ श्रृंखलाअन्तर्गतको सरसफाईका दौरानमा नारायणी लिफ्ट सिचाँइ आयोजनाको नहरभित्र मृत अवस्थामा फेला परेका २ वटा भैसीका पाडा, रक्सीका बोतलहरु, भुइँमा बिच्छाउन प्रयोग हुने फर्म, पुराना लत्ता कपडा तथा विभिन्न प्लाष्टिकजन्य फोहरहरु भेटिएको समूहका अभियन्ता विशाल रोनियारले बताए । उनका अनुसार संकलन गरिएका प्लाष्टिकजन्य फोहरलाई महानगरपालिकाको जिम्मा लगाइने र अन्य कुहिने फोहरलाई उचित स्थानमा गाडिने गरिएको छ ।

‘सातामा एक दिन एक छिन’ भन्ने मुल नाराका साथ सरसफाईमा क्रियाशिल समूहले पछिल्ला केहि श्रृंखलादेखि अनुगमनसमेत थालेको समूहका अर्का अभियन्ता सुवाश श्रेष्ठले जानकारी दिए । ‘सार्वजनिक स्थानमा फोहर गर्नेको पहिचान गरि गोप्य रुपमा नै सुरुमा सम्झाउने गर्छौं।’, उनले भने,’यदि दोस्रो पटक पनि सोहि कार्य दोहोरिएको पाइएमा महानगरपालिकासमक्ष कारवाहिका लागि सिफारिस गर्ने गरेका छौँ।’

उनका अनुसार केहि दिनअघि मात्रै सरसफाई गरिएकै स्थलमा फोहोर फालिएको पाइएपछि भरतपुर ४ का दुई स्थानियलाई महानगरपालिकामा सिफारिश गरि जनहि २ हजार ५ सय रुपैयाँ जरिवाना समेत तिराई छोडिएको थियो ।  सार्वजनिक स्थलमा फोहर गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा सचेत गराउन विभिन्न चोक तथा स्थलहरुमा ब्यानरसमेत टांग्ने गरिएको अभियन्ता भोजनारायण कँडेलले जानकारी दिए ।

यसका अलावा अभियानले चितवललाई गुट्खा मुक्त गराउन दवाव दिने लक्षसहित अहिले हस्ताक्षर अभियान समेत संचालन गरिरहेको छ । सो अभियानमा भरतपुर महानगरपालिकाका वडा समिति, टोलविकास संस्थाहरु, विद्यालय, महिला तथा बाल समूह, सरसफाईमा क्रियाशिल संघ संस्थाहरु गरि करिव १ सय भन्दा बढिले ऐक्यबद्धतासमेत जनाइसकेका छन् । संकलित हस्ताक्षर र ऐक्यबद्धता पत्रलाई आगामि पौष १४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाउने कार्यक्रम तय भएको अभियन्ता नविन खरेलले जानकारी दिए ।

पछिल्लो डेढ वर्षदेखिको सरसफाईका क्रममा संकलित फोहरमा गुट्खाजन्य पदार्थको खोलको हिस्सा बढि भएको, प्रशोधन तथा संकलन गर्न पनि अप्ठेरो तथा मानव स्वस्थ्यमा प्रतिकुल असर पर्ने भएकोले पनि सो अभियानको थाली गरिएको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सूरु भएको समूहमा क्रियाशिल रुपमा ८० जना भन्दा बढि आवद्ध छन् भने हालसम्म करिव २ हजार जना भन्दा बढि जोडिएका छन् । यहि समूहकै शाखाका रुपमा कास्की, कैलालीलगायतका जिल्लामा समेत सरसफाई अभियान सञ्चालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *