देउडा गीत पश्चिमको प्रमुख चिनारी

बिधुत्मा रैका
कोहलपुर, फागुन, २६,

देउडा गीत पश्चिमको ढुकढुकी हो । मेलापात, विवाह, छैंठी तथा विभिन्न चाडपर्वहरुमा यसका सुरिला भाकाहरु सुन्न र देख्न पाईन्छ ।

यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा, ठाडी भाका, न्याउले, भारी खेल, हुड्क्यौली आदीले चिनिन्छ । पश्चिमेली खस भाषामा आधारित देउडा गीत अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, मुगु जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा गाउने गरिन्छ ।

यी जिल्लामा पुख्र्यौली पश्चिमका पहाडी जिल्लामा घर भएका मानिसहरु जहाँ जान्छन् त्यही देउडामय बनाउँछन् । शनिबार कोहलपुरको गोलपार्क देउडामय बन्यो । दैलेखी एकता समाजले आयोजना गरेको देउडा कार्यक्रममा धेरै मानिसहरुले देउडा गाएर तथा नाँचेर आफ्नो सांस्कृतिक सहभागीता जनाए । देउडाको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्कमा धेरै दर्शकहरुको उपस्थिती रहेको थियो ।

महिला पुरुष मिलेर गोलपार्कको खुल्ला मैदानमा गोलो घेरा बनाएर एकै तालमा हातखुट्टा मिलाउदै दुई समूहमा देउडा खेलिरहेका थिए । कार्यक्रममा अछाम, दैलेख, हुम्ला, जुम्ला तथा मुगुका देउडा पे्रमिहरु देउडामा झुमिरहेका थिए । र धेरै जना दर्शकहरु रमाईलो मान्दै हेरिरहेका थिए । महिला र पुरुषहरूले छुट्टा–छुट्टै समुह बनाएर एक आपसमा हात समाएर देउडा गीत गाएको तथा पैतल मिलाएर देउडा खेलेको दृश्य निकै आकर्षक थियो ।

वि.सं. २०७० साल फागुन ४ गते दैलेखी एकता समाज शाखा कार्यालय कोहलपुरको स्थापना भएको थियो । स्थानीय कला संस्कृति तथा देउडाको जगेर्नाका लागी एकता समाज गठन गरिएको अध्यक्ष भरत कठायतले बताए । उनी भन्छन्–‘समयको परिवर्तनसँगै बजारमा विभिन्न किसिमका आधुनिक, रिमिक्स, ¥याप गीत संगीतहरू आईरहेका छन्, यसले हाम्रो देउडा संस्कृति पछाडी धकेलिरहेको छ । देउडाले हाम्रो छुट्टै पहिचान बोकेको छ ।’ उनले, मध्य तथा सुदुरपश्चिमकै शान देउडा गीत पछिल्लो समयमा संकटमा परेकाले समाज गठन गरि यसको जगेर्ना गर्न लागी परेको बताए ।

दैलेखी एकता समाजले हरेक महिनाको १५ गते देउडा कार्यक्रमको आयोजना गरि देउडा खेल्दै एक आपसमा रमाईलो वातावरणको सिर्जना गर्छ । यस्ता किसिमका कार्यक्रमहरुले यसको प्रचार प्रसार तथा देउडा संस्कृतिको जगेर्नामा टेवा पुग्ने दैलेखी एकता समाज वडा नम्बर ११ का सचिब प्रेमिका शाहीले इआवाजलाई बताईन् । उनले भनिन्,–‘हाम्रो मुख्य अभियान भनेको देउडा बचाउनु हो । आफ्नो पुख्र्यौली कला संस्कृति भनेको हाम्रो लागी पुर्खाहरुले छोडेको अनुपम उपहार पनि हो । उनीहरुले धेरै संरक्षण गरेर हामीलाई सुम्पेका छन् । हामीले यसको संरक्षण गर्नुपर्छ ।’

कोहलपुरमा आ–आफ्ना जिल्लाका एकता समाज गठन गरिएका छन् । एकअर्कालाई समस्या पर्दा मिलेर समाधान गर्दै आएका छन् । जुनसुकै एकता समाजले देउडा कार्यक्रमको आयोजना गर्छन त्यहाँ सबै जिल्लाका सदस्यहरुको उपस्तिथी रहने गरेको कालिकोट एकता समाजका अध्यक्ष खड्क बहादुर शाहीले बताए । उनले भने,–‘सुदूर तथा मध्यपश्चिमको कला संस्कृति एउटै हो । सबैलाई आफ्नो संस्कृतिको माया लाग्छ । त्यस कारण म पनि यस संरक्षणको अभियानमा सरिक भएको छु ।’

उनीहरुलाई समस्या पर्दा एकआपसमा सहकार्य गर्दै आएका छन् । जुनसुकै जिल्लाका एकता समाजको देउडाको संरक्षण, सम्र्वद्धन, विकास तथा प्रचार प्रसार गर्ने एउटै लक्ष्य रहेको छ । यसै क्रममा अछामी एकता समाज कोहलपुरका सदस्य कमल शाही भन्छन्,–‘देउडा हामीलाई चिनाउने माध्यम हो । पश्चिम भन्ने वित्तिकै देउडाको झल्को आउँछ । त्यसैले देउडालाई संरक्षण एवं सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो ।’

नेपालको संविधानको धारा ३२ को उपधारा ३ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वद्र्धन र संरक्षण गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । त्यसैलाई मध्यनजर गर्दै कोहलपुरमा हरेक महिनाको १५ गते देउडा कार्यक्रम गरिँदै आएको छ ।

कामको सिलसिलामा हिँडेकी अछामको जनालीकोट घर भई कोहलपुर बस्दै आएकी सरस्वती स्वाँर शनिबार दिउँसो जब गोलपार्कमा पुगिन् उनको मन फुरुङ्ग भयो । त्यहाँ उनले देउडा खेल निकै चाख दिएर हेरिन् । उनी भन्छिन्,–‘अहिले म ६५ वर्षकी भएँ । १७ वर्षको उमेरमा कोहलपुर झरे पनि देउडा भनेपछि हुरुक्कै हुन्छु । घाँतपात मेला पर्व वनपाखा गर्दा आफुले आफ्नो काकी, भाउजुहरुले गाएको ठाडी भाका निकै याद आउँछ ।’

जो कोहीलाई पनि देउडा सुन्दा या गाउँदा छुट्टै आनन्द आउँछ । देउडाले एकआपसमा गहिरो सम्बन्ध र आत्मियता स्थापित गराउँछ । यसले मानिसलाई मनोरञ्जन र सन्देश दिनुका साथै समाजलाई एक सूत्रमा बाँध्ने काम गर्छ । पछिल्लो समय बजारमा चलेका गीतहरूको प्रभाव बढ्दै जाँदा देउडाका मौलिक सिर्जनाहरु खुम्चिंदै गएका छन् । यसको संरक्षण एवं सम्वद्र्धन गर्न सके हाम्रो लोक कला संस्कृति र हाम्रो पहिचान जोगिने छ । आउनुहोस् यस्ता लोक संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा सबैले हातेमालो गरौं ।

  • 14
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *