स्थानीय सरकार कार्य सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

१ पौष, २०७४
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकाले आयोजना गरेको २ दिने स्थानीय सरकार कार्य सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम शनिबारबाट सुरु भएको छ । निर्वाचित प्रतिनिधीहरुको भुमिकाका बारेमा अवगत गराउनका लागि बाँकेको नेपालगञ्जमा सो अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्दघाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बैजनाथ गाउँपालिकाले देशका प्रवुद्ध व्यक्तिहरुलाई ल्याएर अति नै महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको हुँदा अत्यन्तै गौरव महसुस गरेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रीवास्तवले कानुनसम्मत ढंगबाट जनताको अपेक्षाअनुसार कार्य सम्पादन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले भने,‘केहि बाधा अड्चन आइपरेमा विज्ञ तथा बुद्धिजिवीहरुको सहयोग लिनुहोस् ।’

गाउँपालिका प्रमुख मानबहादुर रुचालले स्थानियहरुसँग काम गर्दा आई परेका समस्याहरुलाई सहज ढंगबाट सम्बोधन गर्न र सिकाई आदान प्रदान गर्नका लागि पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राखे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले गाउँ सभामा निर्वाचित भई आएका सबै महिला, दलित, जनजाति तथा पछाडि पारिएको समुदायका प्रतिनिधिको बुझाईको स्तर समान भई नसकेको हुँदा सवै निर्वाचित प्रतिनिधीहरुको आ आफ्नो भुमिकाका बारेमा साझा बुझाई कायम होस् भनि कार्यक्रमको आयोजना गरिएको बताइन् ।

अभिमुखिकरण कार्यक्रममा संघीयता, स्थानीय सरकार र स्थानीय सरकार संचालनका लागि भएका व्यवस्था तथा जननिर्वाचित प्रतिनिधिहरु, कर्मचारीहरुको काम कर्तव्य र अधिकारहरुको बारेमा समेत प्रष्ट पारिने कार्यक्रमको साझेदार संस्था इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले जानकारी दिए ।
यस्ता कार्यक्रमहरु स्थानिय तहमा संचालन गर्दा सहज रुपमा कार्य सम्पादन गर्नमा मद्दत पुग्ने हुनाले आफुहरुले यो कार्यक्रम गर्नमा जोड दिएकोे सहयोगी निकाय युएसएआईडी साझेदारी विकास परियोजनाका महेश नेपालले बताए ।

कार्यक्रमको सहजिकरण प्रशासनिक अदालतका अध्यक्ष, उच्च स्तरिय प्रशासन सुधार तथा कर्मचारी समायोजन समितिका संयोजक एवम् संविधानविद् काशीराज दाहाल, नेपाल टेलिभिजनका प्रमुख कार्यकारी उत्पादक तथा लैगिंक विश्लेषक आरती चटौतलगायतले गरिरहेका छन् ।
अमेरिकी सहयोग नियोग तथा साझेदारी विकास परियोजनाको सहयोग तथा इन्रुडेक बाँकेको सहकार्यमा आयोजित कार्यक्रममा गाउँसभाका सम्पुर्ण सदस्यहरु, वडा सचिवहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु गरी करिब ६० जनाको सहभागीता रहेको छ । अभिमुखिकरण कार्यक्रम आइतबारसम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *