एसीसी यू-१६ क्रिकेट : नेपालद्वारा फाइनलमा स्थान सुरक्षित, उपाधि भिडन्तमा सिंगापुर प्रतिस्पर्धी

१ पौष, २०७४
काठमाडौं : मलेसियालाई ७२ रनले हराउँदै नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि नेपालले सिंगापुरसंग खेल्नेछ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा झारीएको खेलमा आठ विकेट गुमाउँदै एक सय २७ रन बनायो । ११ रन हुँदा ओपनर कुशल मल्ल मात्र ६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर ३० रन हुँदा दोस्रो विकेट झर्यो । विशालविक्रम केसी १५ रनमा आउट हुँदा नेपालको स्कोर ३६ रन थियो । राजन मगर व्यक्तिगत ११ रनमा पेभेलियन फर्किए ।

नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउदा पाँच विकेट गुमायो । म्यानमारविरुद्ध शतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे । त्यसपछि नारायण जोशी र सुनिल भण्डारीले नेपालका लागि समान १७–१७ रनको योगदान गरे भने प्रतिश जिसी २५ रनको योगदान दिए।

जवाफमा मलेसिया २१ ओभर एक बलमा मात्र ५५ रनमा अलआउट भयो । नेपालको कसिलो बलिङ सामु मलेसियाले राम्रो सुरुवात गर्न सकेन । ६ रन हुदा पहिलो विकेट गुमाएको मलेसियाले २६ रन बनाउँदा सुरुवाती पाँच विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको मलेसियाले अरु १० रन जोडदा थप चार विकेट गुमायो मलेसियाका लागि सन्देश सुप्रमन्नियमले १६ रन बनाउनु बाहेक बाँकि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

अन्तत मलेसियाको पारी ५५ रनमा समेटियो। मलेसियालाई सस्तैमा अलआउट गर्न शुर्य तामाङले ४ तथा प्रतिश जिसीले ३ विकेट लिए ।

आजै भएको अर्को सेमिफाइनलमा सिंगापुरले हङकङलाई ८ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । उपाधिका लागि अब नेपालले आगामि आइतबार सिंगापुरसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *