शहिद-सूचीमा करेन्ट लागेर मृत्यु भएका र आत्महत्या गरेका समेत, आयोगले भन्यो-सच्याउ

१ पौष, २०७४
काठमाडौं : दुर्घटना तथा भवितव्य घटनामा मृत्यु भएका व्यक्तिलाई समेत तराई-मधेस तथा थरुहट आन्दोलनमा क्रममा मृत्यु भएको भनेर सहिद घोषणा गरिएकोमा त्यसलाई सच्याउन सिफारिस गरिएको छ।

तराई-मधेस तथा थरुहट आन्दोनलसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो। मधेस आन्दोलनका क्रममा मृत्यु भएका भनेर दुर्घटनामा मृत्यु भएका र आत्महत्या गरेका व्यक्तिलाई समेत सहिद सूचीमा राखिएको आयोगको छानबिनमा खुलेको छ।

सुरुमा सरकारले मधेस आन्दोलनका ४२ जनालाई सहिद घोषणा गरेकोमा मधेसी मोर्चाका नेताहरुको दबाबमा पटक–पटक नाम थपिएको थियो। आन्दोलनबाट मोटरसाइकलमा फर्कंदै गर्दा दुर्घटनामा परी मृत्यु भएका बालकृष्ण राय तथा करेन्ट लागेर मृत्यु भएका शिवशंकर दासको नाम सहिदको सूचीबाट हटाउन सिफारिस गरिएको छ।

त्यस्तै, रौतहटमा दुर्घटनामा रामआशिष ठाकुर र विद्यानन्द यादवलाई समेत सहिद घोषणा गरिएको छ। आत्महत्या गरिएको व्यक्तिलाई समेत अनुसन्धान नै नगरी आन्दोलनकारी भनेर सहिद घोषणा गरिएमा त्यसलाई सच्याउन सिफारिस गरिएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको आयोगले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *