‘भोक र भोग एवम् शरीर र सम्भोगको दर्शन नै ऐलानीको केन्द्र हो ।’

– विमर्श कँडेल

२९ मंसिर, २०७४
काठमाडौँ : वादी समुदाय भारतको वैशालीबाट लिच्छवि कालमा नेपाल छिरेको विश्वास गरिन्छ । वाद्यवादन र नाचगानलाई आफ्नो पेशा बनाएको यो समुदायलाई शुरुमा तत्कालिन राजा रजौटा र जमिन्दारहरुले मनोरञ्जन लिनमा प्रयोग गर्ने गरेको पाइन्छ । तर यो पेशा पनि धेरै नटिकेपछि वादी समुदायका महिलाहरु बाध्यतावस यौन व्यवसायमा लागेको जानकारहरु बताउँछन् । पिछाडिएको र अल्पसंख्यक रुपमा रहेको यो समुदायले पछिल्लो समयसम्म पनि वर्गीय, जातीय तथा लैंगिक उत्पीडन भोग्दै आएको छ ।

मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा बाहुल्यता रहेको यहि समुदायको वि.सं. २००७ सालपछि हालसम्मका समग्र पिडा र अनुभुतिलाई केन्द्रमा राखेर लेखिएको उपन्यास ऐलानी शुक्रबारदेखि बजारमा आएको छ । लेखक विवेक ओझाले लेखेको उपन्यास ऐलानीमा सो समुदायको मनोविज्ञानलाई स्थानिय स्वरमा बयान गर्दै धर्म, जिवन र दर्शनको कठघरामा वादी समुदाय र सामन्ती परिवेशको उतारचढावलाई सजीव ढंगबाट चित्रण गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै आख्यानकार अमर न्यौपानेले उपन्यासमा वादी समुदायको बाह्य परिवेशभन्दा पनि यसले स्थापित गराएको आन्तरिक परिवेशलाई चित्रण गर्न लेखक सफल भएको औँल्याए । आफुलाई मन परेको र नपरेको दुबै पुस्तकबारे बोल्न गाह्रो हुने तर्क गर्दै आख्यानकार न्यौपानेले भने,‘केहि वर्ष अघि वादी समुदायको बारेमा लेख्ने अवसर गुमाएको थिएँ । आज ऐलानी पढ्दा लागिरहेछ कि यो उपन्यास मैले नै लेखेको हुँ । त्यसमाथि आफैले लेखेको जस्तो लागेको उपन्यासबारे बोल्न मलाई झनै अप्ठेरो हुनेछ ।’

लेखकले पात्रहरुलाई आदर्शभन्दा पर अर्थात यथार्थको बाटोमा हिँडाएको बताउँदै न्योपानेले पात्रहरुमा ज्वलन्त रुपमा विद्रोहको स्वर नदेखिएपनि सुक्ष्म रुपले आत्मसन्तुष्टी र कोमल तरिकाको विद्रोह भने भेट्न सकिने तर्क गरे । उपन्यासको सुरुवातमा छोटो समयमा नै पात्रहरु एक आपसमा खुलेको टिप्पणी गर्दैै उनले भने,‘समग्रमा भोग र भोक तथा शरीर र सम्भोगको दर्शन नै ऐलानीको केन्द्र हो ।’

निबन्धकार एवम् समिक्षक कुमारी लामाले उपन्यासमा बालकदेखि बृद्धसम्मको मनोविज्ञान तथा एक पछि अर्को पुस्ताका बीचमा भएको पीडा हस्तान्तरणलाई गहिराईमा पुगेर चित्रण गरिएको बताइन् । ‘मनोविज्ञानहरु यत्तिकै बन्दैनन् । अन्य धर्म मान्दा, खेतीपाती गर्दा, गाईवस्तु पाल्दा पेशा धरापमा पर्छ भन्ने जस्ता कुराहरुले वादी महिलाहरुको मनोविज्ञान निर्धारण भएको छ ।’,उनले थपिन्,‘शक्ति केन्द्र र तिनका संरचनाबाट जबरजस्ती लादिएको एउटै कुरा छ, कि शरीर बिक्रि भइन्जेलसम्म मात्र पेट भरिन्छ । हो यहि वादी महिलाहरुको मनोविज्ञानलाई विवेकले पिधँसम्म पुगेर खोतलेका छन् ।’

राज्यले वादी समुदायलाई यौन हिंसामुक्त समुदायको रुपमा घोषणा गरिसकेको भएपनि उनीहरु अझै धार्मिक, सामाजिक, आर्थिक तथा लैंगीक रुपमा उत्पिडनको रेखामुनि बाँच्न बाध्य छन् । केहिले फरक पेशा अंगाले पनि त्यसप्रति उनीहरु विश्वस्त हुन सकेका छैनन् । कतिपय पुनः यौन व्यवसायमा नै पर्किएका छन् भने कतिपयले आत्महत्या समेत गरेको सुनिन्छ । यसको प्रमुख दोषि शक्ति केन्द्र र यसका संरचनालाई मान्छिन् निबन्धकार एवम् समिक्षक लामा । ‘यसका लागि धर्म र पापसँग जोडिएका अन्धविश्वास र यसका संरक्षणकर्ता पनि दोषि छन् ।’,उनले थपिन्,‘त्यो भन्दा ठुलो दोषि त वादीलाई स्विकार्न नसक्ने हाम्रो मानसिकता हो ।’

अहिले नातिनी पुस्ताका वदिनीहरु परिवर्तित पेशामा आत्मनिर्भर हुन खोजिरहेको अवस्थालाई पुस्तकमा सकारात्मक ढंगबाट नउतारिएको टिप्पणी गर्दै लामाले भनिन्,‘समस्या देखाइयो तर पात्रहरुमा परिवर्तन हुने सोच र आशालाई भने सञ्चार गराईएन ।’

पुस्तकमाथि आफ्नो धारणा राख्दै अर्का वक्ता एवम् कवि प्रोलास सिन्धुलियले ऐलानी यौन मनोविश्लेषणलाई केन्द्रमा राखेर लेखिएको उपन्यास भएको जिकिर गरे । उपन्यासको नाम राख्दाको अलमललाई ठट्यौली ढंगबाट दर्शक सामु राखेका उनले वादी समुदायको समस्या समग्र देशकै समस्या हो भन्न पुस्तकको नाम प्रतिकात्मक ढंगबाट सहि रहेको उनले दावि समेत गरे ।

कार्यक्रमको अन्तिममा छोटोमा आफ्नो लेखकिय धारणा राखेका ओझाले ऐलानी उपन्यास यथार्थ घटनाहरुको लेखोट भएको बताए । ‘जस्तो समाजमा देखेँ उस्तै पुस्तकमा उतारेको हुँ ।’,कैलाली घर भएका लेखक ओझाले भने,‘पुस्तकमा उठान भएको समस्याको आँफैले समाधान दिने भन्दा पनि यो समस्याले पढ्नेको दिमागमा तरंग पैदा गरोस् र पाठकले स्वयम् आफ्नो तरिकाबाट समाधान खोजोस् भन्ने मेरो चाहना हो ।’ उपन्यासका पात्रहरुले दुःख सुख के दिएका छन् भन्ने कार्यक्रम संचालक गजलकार बाबु त्रीपाठीको प्रश्नको जवाफ दिदैँ लेखक ओझाले भने,‘मेरो चेतन मात्रै होइन अवचेतनमा पनि पात्रहरुको हर्कत नमेटिने गरि छापिएको छ ।’

एलानी उपन्यास लेखक ओझाको पहिलो उपन्यास हो । यसअघि उनका एउटा कविता कृति र ‘एक पाइला आकाशमा’ नामक गजल कृति प्रकाशित छन् । तीन सय पचास रुपैयाँ मुल्य राखिएको ऐलानी उपन्यासलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

(फोटो : राज शाहको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *