‘स्थानीयले दिएको खाका अनुरुप नै काम गर्नेछु’ – अथक

सरला सुवेदी
२९ मंसिर, २०७४
कोहलपुर : गत मंसिर २१ गते सम्पन्न चुनावमा बाँके क्षेत्र नम्बर १ बाट विजयी भएपछि नेकपा माओवादि केन्द्रका उम्मेदवार महेश्वर गहतराज अथक घरदैलो अभियानमा जुटेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रहेका अथक आफुलाई निर्वाचनमा विजयी गराउने मतदाताहरुलाई धन्यवाद दिन तथा मतदाताहरुका समस्या बुझ्नका लागि घरदैलो अभियानमा जुटेका हुन् ।

सो क्रममा उनले गाउँगाउँ,टोलटोलमा गरिएको भेलालाई सम्बोधन गर्नुका साथै आम मतदाताको घरदैलोमै पुगेर उनीहरुको अपेक्षा समेत बुझ्ने गरेका छन् । आगामि ५ वर्षका लागि प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता अथकले बाँके क्षेत्र नम्बर १ का विभिन्न स्थानमा पुगि चुनाव अघि भएका भेला तथा घरदैलो कार्यक्रममा आफुले गरेका प्रतिवद्धताहरु पुरा गर्न लागि पर्ने बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्कवारमा राखिएको भेलामा उनले आम जनताले आफ्नो ठाउँको बारेमा देखेका राम्रा सपना पुरा गरेरै छाड्ने जिकिर समेत गरे । उनले भने,’स्थानियले आफ्नो गाउँ र टोल विकासको लागी कस्तो खालको खाका बनाएर दिनुहुन्छ त्यही अनुरुप म काम गर्नेछु ।’

त्यस्तै वडा नम्बर १३ को भेलालाई सम्बोधन गर्दै सोहि क्षेत्रको प्रदेश सभा सदस्यमा निर्वाचित सांसद आरती पौडेलले आफुलाई जिताउन सहयोग गर्नुहुने तथा मत दिनुहुने सबैलाई एकमुष्ट धन्यवाद प्रकट गरिन् । सम्बोधनका क्रममा उनले आम मतदाताको अमुल्य मतको सम्मान गर्ने र जनाताको चाहना बमोजिमका कार्य गर्न दिन रात लागी पर्ने जिकिर समेत गरिन् । मतदातासामु सांसद पौडेलले आफ्ना प्रतिबद्धता समेत राखेकी थिइन।
यसअघि निर्वाचित भएका जनप्रतिनिधिहरुले चुनाव जीतेपछि आफ्नो क्षेत्र तथा मतदाता नै बिर्सिने गरेको बताउँदै आम मतदाताले सांसदहरु आफ्नो घरआगनमा पुन आएकोमा खुशियाली मनाएका थिए । मतदाताहरुले सांसदहरुलाई आफ्नो ठाउँलाई सुन्दर र सम्वृद्ध बनाउन खटिनका लागि आग्रह गरेका थिए ।

कोहलपुर नगरपालिकाले पनि गर्यो सम्मान
यसैगरी कोहलपुर नगरपालिकाले नवनिर्वाचित प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मान गरेको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर ८ को वडा कार्यलयमा वडावासी एवम् स्थानिय जनप्रतिनिधिहरुहरुको उपस्थितिमा नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिएको हो । उक्त अवसरमा सांसदहरुकै हातबाट वडा नम्बर ८ को वडा कार्यलय भवनको समेत उद्घाटन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *