राष्ट्रपतिको भ्रमणकै समयमा कोरियन पत्रकारमाथि चिनियाँ सुरक्षाकर्मीद्वारा कुटपिट

२९ मंसिर, २०७४
सिओल : चीनको राजकीय भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सँगै रिपोर्टिङमा गएका कोरियन फोटो पत्रकारमाथि चिनियाँ सुरक्षाकर्मीले कुटपिट गरेका छन्।

बिहिबार बिहान करिब ११ बजे राष्ट्रपति मुनले एउटा अर्थ मामिलासम्बन्धि मिटिङको लागि कम्पनि निरिक्षण गरि हल भित्र प्रवेश गर्ने क्रममा कोरियन पत्रकारलाई प्रवेशमा रोक लगाईएको थियो।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कोरियन समाचार समिति योंहाप लेख्छ ,‘राष्ट्रपति मुन तथा उनका निजी सुरक्षा गार्ड कार्यक्रम हल भित्र प्रवेश गरिसकेपछि सँगै रहेका पत्रकार पनि प्रवेश गर्न खोज्दा चिनियाँ सुरक्षाकर्मीले रोकेका थिए। लगत्तै उनीहरुलाई भुइँमा लडाएर कुटपिट गरेका थिए।’

लात्तले हान्दै कुटपिट गरिएका केही तस्विर समेत सार्वजनिक गरिएको छ। उनीहरुको साथबाट क्यामेरा समेत खोसिएको थियो। कुटपिटपश्चात् उनीहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो। पत्रकारले आफ्नो साथमा भएको परिचय पत्र देखाउँदा समेत सुरक्षाकर्मीले नछाडेको बताइएको छ। कुटपिटको कारण उनीहरूका आँखा तथा ढाडमा सामान्य चोट लागेको छ।

यसैबीच दक्षिण कोरियाली विदेश मन्त्रालयले घटनाको पुष्टी गर्दै चिनियाँ सरकारसँग छानबिनको माग गरेको छ। राष्ट्रपति मुन चार दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 Shares
Share4
Tweet
Pin
Share