आज काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस, तापक्रम क्रमश: घट्दै जाने मौसमविदको दावि

२९ मंसिर, २०७४
काठमाडौं : आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । मौसमविद शान्ति कँडेलका अनुसार शुक्रबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ । उनको भनाइअनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो ।

काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् । केहि दिन अघि देखि नै उच्च हिमाली एवम् पहाडी क्षेत्रहरुमा समेत हिमपात सुरु भएकोले ती क्षेत्रहरुमा समेत जनवीवन प्रभावित बनेको छ ।

पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । शुक्रबार पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्म पनि कायम रहेको थियो । अब हुस्सु लाग्ने क्रम पूर्वी तराईमा समेत बढ्दै जाने मौसमविद कँडेलको भनाई छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको उनले बताइन् ।

तापक्रम अझै घट्न सक्ने भएकोले जाडोबाट बच्नका लागि विभिन्न उपायहरु जस्तो आगो ताप्न, न्यानो लुगा लगाउन चिकित्सकहरुले सल्लाह दिएका छन् । यो समयमा विशेषगरि बृद्ध र बालबालिकाहरुको स्वास्थ्यमा ध्यान दिन समेत चिकित्सकहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *