द्वन्द्वपीडितका समस्या समाधानमा राज्य उदासिन

सरला सुबेदी,

२७ मंसिर, २०७४
कोहलपुरः द्वन्द्वपीडितका समस्या समाधान गर्न सरकार उदासिन भएको बाँकेका द्वन्द्वपीडित एकल महिलाहरुले गुनासो व्यक्त गरेका छन् ।

द्वन्द्वपीडित एकल महिला संजाल बाँके शाखाले आयोजना गरेको शान्तिका लागि सहयात्रा स्मरण कार्यक्रममा बोल्दै बाँके शाखाकी संस्थापक अध्यक्ष शोभा बि.सी.ले भनिन्–‘अब हामीलाई रातहका कुनै पनि कार्यक्रम हैन न्याय र हक दिलाउने कानुन चाहिएको छ ।’ उनले अहिलेसम्म धेरै सरकारहरु फेरिए तर पनि द्वन्द्वपीडित एकल महिलाहरुका समस्याहरु समाधान हुने कुनै पनि कार्यक्रम आउन नसकेको बताईन् । अहिलेको अवस्थामा राज्यबाट प्राप्त हुने थोरै राहतले पीडित महिलाहरुको जीवनशैली नफेरिने र उनीहरुका लागि सम्मानजनक रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा बोल्दै पीडित महिलाहरुले २०५२ सालदेखी निरन्तर लडेर न्याय माग्दा पनि राज्यले वास्ता नगरेको बताएका छन् । सन्जालले बिहिवार कोहलपुरमा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, पत्रकार र सरोकारवालाहरुसंगको छलफल यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले द्वन्द्वपीडित परिवारको उचित न्यायको लागी आफुले यस बसोबास गर्ने द्वन्द्वपीडित परिवारहरुको तथ्यांक संकलन गरि उनीहरुका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

उनले त्यस्ता पीडित परिवारहरुका लागी सीपमूलक तथा आयआर्जनमूलक कार्यक्रम मार्फत उनीहरुलाई रोजगारीको सिर्जना गरि आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाहले द्वन्द्वपीडितहरुको समस्या भनेको नै सबैको समस्या हो । राज्य यो कुरामा पन्छिन नमिल्ने र यस विषयमा विशेष चाँसो दिएर लाग्नु पर्ने बताइन् ।

यस्तै द्वन्दपीडित एकल महिला संजाल बाँकेकी पूर्व सचिव तथा खजुरा गाउपालिकाका उपाध्यक्ष एकमाया बिकले द्वन्द्वपीडितको वकालत गर्दागर्दै आफु यस ठाउँमा आएको बताइन् । उनले भनिन्–‘म पनि द्वन्द्वपीडित महिला हुँ, तपाईहरुको पीडा नै मेरो पीडा हो । अब यो हकअधिकार सुनिश्चित गर्न लागि पर्ने बताइन् ।

द्वन्द्वपीडित एकल महिला सन्जालकी कार्यवाहक अध्यक्ष गोमा थापाले बाँकेमा राज्य तथा बिद्रोहि पक्षबाट हाल १४ सय द्वन्द्वपीडित रहेको र जसमध्ये ९ सय ४० जनाको मात्रै तथ्यांक दर्ता भएको बताइन् । उनले १ सय २६ जना बेपत्ता भएको तथ्यांक संजालमा रहेको बताइन् ।

कार्यक्रममा एडभोकेसी फोरमका क्षेत्रीय संयोजक बसन्त गौतम, मानवअधिकारकर्मी मुरारी खरेल र द्वन्द्वपीडित पीडित परिवारका तर्फबाट पबित्रा रोकाय र देवबहादुर डि.सी. लगायतले आफ्नो भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *