नाटक ‘चिसो भञ्ज्याङ’ मञ्चनको तयारी तिव्र

– विमर्श कँडेल
२८ मंसिर, २०७४
काठमाडौं : पौष पहिलो सातादेखि मञ्चन हुने नाटक ‘चिसो भञ्ज्याङ’को लागि तयारी तिव्र पारिएको छ । मंसिर १२ गतेदेखि १४ जना कलाकारको समुह नाटकको रिहर्सलमा जुटेको हो ।

नाटक ‘चिसो भञ्ज्याङ’ बेलायती उपन्यास अटोन्मेन्टमा आधारित छ । अटोन्मेन्ट पुस्तक सुपरिचित बुकर पुरस्कार प्राप्त लेखक इयान म्याक्वेनले सन् २००१ मा लेखेका हुन् ।

सन्दिप श्रेष्ठको लेखन तथा निर्देशनमा मञ्चन हुने नाटकमा पुजा लामा  अनुप न्यौपाने, सबिना गोपाली, दिपिका ढकाल, प्रतीक दुलाललगायतका कलाकारहरुको अभिनय हेर्न सकिनेछ । यसका अलावा मञ्चमा रोशन सुवेदी बाबुसाहेब, बारात लिम्बू तोप, समापिका गौतम सम्झना तथा सगुन पोख्रेल अनुको भुमिकामा देखिने निर्देशक श्रेष्ठले बताए । उनका अनुसार विकास पन्तले भद्रबहादुर, उदय सुब्बाले आकाश, सीता राणाले सुभोद्रा, संजिव राईले दर्शन र विवेकले माईलोको चरित्रलाई मञ्चमा उतार्नेछन् ।

पछिल्लो सयम नेपालीका साथसाथै विदेशी पुस्तककरुको कथासामाग्रीमा आधारित भएर नाटक मञ्चन भईरहेको परिप्रेक्षमा विश्व प्रसिद्ध बेलायती उपन्यास अटोन्मेन्टलाई नेपाली रंगकर्मी तथा दर्शकहरुको माझमा मञ्चन गरिनुलाई बेग्लै स्वादका रुपमा हेरेको निर्देशक श्रेष्ठको भनाई छ । ‘हाम्रा लागि यो नाटक चुनौति र अवसर दुवै हो’, उनले भने, ‘सोहि चुनौतिलाई सहि तरिकाबाट पार लगाउन हाम्रो प्रयास जारी छ ।’

उता विश्व प्रसिद्ध पुस्तकमा आधारित नाटकको एक हिस्सा बन्न पाउँदा आफुलाई खुशि लागेको कलाकार दिपिका ढकालले बताईन् । ‘करिब १ सय वर्ष पुरानो परिवेश र पात्रलाई मञ्चमा उतार्नु चानचुने कुरा होइन’,  साधनामा व्यस्त ढकालले भनिन् , ‘तर आफुले कमला नामको चरित्रलाई जिवन्त बनाउन अहिले सक्दो कोशिष गरिरहेकी छु ।’

पुस्तकमा लेखक म्याक्वेनले सन् १९३५ को इंग्ल्याण्ड, दोस्रो विश्वयुद्धका बेलाको इंग्ल्याण्ड र फ्रान्स तथा प्रकाशनका समय ताकाको इंग्ल्याण्डको परिवेशलाई तीन खण्डमा चित्रण गरेका छन् । उच्च घरानाकी एक सोझि किशोरीको गल्तिले उसको दैनिकीमा पारेको प्रभाव, सोहि गल्तिको छाँयामा बितेको उसको किशोरअवस्था र उसको लेखनको प्रकृतिमा पारेको असरलाई निकै सटिक ढंगबाट पुस्तकमा उतारिएको छ ।

सो पुस्तक सन् २००१ मा बुकर पुरस्कारको अन्तिम सुचिमा समेत परेको थियो । अटोन्मेन्टलाई सन् २०१० मा टाइम म्यागेजिनले सन् १९२३ देखि अंग्रजी भाषामा प्रकाशित एक सय विशिष्ट कृतिमा समावेस समेत गरेको थियो । पुस्तकलाई चलचित्रको रुपमा समेत फिल्माइएको छ । अटोन्मेन्ट चलचित्रले सन् २००७ को बाफ्टा र एकाडमी अवार्ड समेत प्राप्त गर्न सफल भएको थियो ।

फोरक्युबको प्रस्तुति रहेको नाटक ‘चिसो भञ्ज्याङ’ मण्डला थिएटर, अनामनगरमा आगामि पौष ७ गतेदेखि ३० गतेसम्म मञ्चन हुने बताइएको छ । नाटक सोमबार बाहेक हरेक दिन साँझ पौने ५ बजे र शनिबार नियमित बाहेक दिनको १ बजे समेत मञ्चन हुनेछ ।

  • 141
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *