रोहित शर्मा : एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने पहिलो खेलाडि

२८ मंसिर, २०७४
काठमाडौं : रोहित शर्माले एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्।

नियमित कप्तान विराट कोहलीको अनुपस्थितिका कारण श्रीलंकाविरुद्ध एक दिवसीय शृंखलामा कप्तानीको भूमिकामा रहेका शर्माले अविजित २ सय ८ रन बनाउँदै विश्व क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने किर्तिमान बनाए।

रोहितले १ सय ५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गर्दै २ सय ८ रन बनाए। यस क्रममा उनले शिखर धवनसँग पहिलो विकेटको लागि १ सय १५ रनको, दोस्रो विकेटको लागि ऐएरसँग २ सय १३ रनको साझेदारी गरेका थिए।

पहिलो ५० रन पूरा गर्न रोहितले ६५ बल लगाएका थिए भने १ सय रन १ सय १५ बलमा पूरा गरेका थिए। त्यसपछि आफ्नो गेम प्लानमा परिवर्तन गरेका रोहितले १ सय ५० रन १ सय ३३ बलमा पूरा गरेका थिए भने खेलको अन्तिम ओभरमा दोहोरो शतक पुरा गर्न उनले १ सय ५१ बल लगाएका थिए।

४९ ओभर सकिंदा रोहितको स्कोर १ सय ९१ रन थियो। ५०औं ओभरको पहिलो बलमा थिसारा परेराको बलमा छक्का प्रहार गरेका रोहितले दोस्रो बलमा २ रन लिँदै स्कोर १ सय ९९ पुर्‍याएका थिए। लगत्तै तेस्रो बलमा २ रन लिँदै रोहितले ऐतिहासिक दोहोरो शतक पूरा गरेका थिए। दोहोरो शतक पूरा गरेपछि उनले हावामा उफ्रदै सेलिब्रेट गरेका थिए।

एक दिवसीय क्रिकेटमा तेस्रो पल्ट दोहोरो शतक बनाउने उनी एक मात्र ब्याट्सम्यान हुन्। उनले सन् २०१३ मा पहिलो पल्ट अस्ट्रेलियाविरुद्ध २ सय ९ रन बनाएका थिए। सन् २०१४ मा उनले श्रीलंकाविरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए।

दोहोरो शतक बनाउने ब्याट्सम्यानहरु

रोहित शर्माको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं दोहोरो शतक हो। यसअघि पहिलो पटक सन् २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रिका विरुद्ध पहिलो पटक दोहोरो शतक (२००) पूरा गरेका थिए।

त्यसपछि विरेन्द्र सेहवागले सन २०११ मा वेस्ट इन्डिज विरुद्ध दोहोरो शतक (२१९) पूरा गरेका थिए। सन् २०१३ मा रोहित शर्माले अस्ट्रेलियाविरुद्ध २ सय ९ रन बनाउँदै दोहोरो सतक बनाएका थिए। यस्तै सन् २०१४ मा शर्माले नै श्रीलंका विरुद्ध २ सय ६४ रनको इनिङ खेल्दै दोस्रो दोहोरो शतक पूरा गरेका थिए।

त्यसपछि २०१५ मा क्रिस गेलले जिम्बाबे विरुद्ध दोहोरो शतक (२१५) प्रहार गरेका थिए। मार्टिन गुप्तिलले सन् २०१५ मै वेस्ट इन्डिज बिरुद्ध २ सय ३७ रनको इनिङ खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *