एसिसी यु–१६ क्रिकेट प्रतियोगिता : म्यानमारमाथि नेपालको ३ सय ३७ रनको किर्तिमानी जीत

२८ मंसिर, २०७४
थाइल्यान्ड : एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले किर्तिमानी जित दर्ता गराएको छ। नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ।

नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११ दशमलव ३ ओभर मात्रै मैदानमा टिक्दै १३ रनमै अलआउट भयो। नेपाली बलिङ सामु सुरुवात देखि नै निरिह सावित बनेको म्यानमारका लागि हेन आङले सबैभन्दा बढी ३ रनको योगदान गरे। म्यानमारका ७ खेलाडिले खाता नै खोल्न सकेनन् भने ३ खेलाडिले मात्र ११ रन बनाउन सके । म्यानमारको इनिङ ध्वस्त पार्न नारायण जोशी र मेखबहादुर सेन थापाले ४–४ तथा विशाल केसीले १ विकेट लिए। समान ४–४ ओभर बलिङ गरेका नारायण र मेखले क्रमशः १ र ४ रन मात्र खर्चिए । म्यानमारले ७ रन नै अतिरिक्त रनको रुपमा पाएकोे थियो ।

यसअघि थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको विशाल योगफल तयार गर्‍यो। नेपालका लागि कप्तान रित गौतमले शतक प्रहार गरे। उनले अविजित १ सय ६ रन बनाउने क्रममा ७८ बल खेलेर १२ चौका प्रहार गरे। तीर्थराज दासले ६४ रन तथा प्रतिश जिसीले नटआउट ६३ रनको योगदान गरे। तीर्थले २९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। प्रतिशले ३१ बलमा १० चौका र १ छक्का हिर्काए।

यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १ सय ३३ तथा दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो। अब नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा सिंगापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *