एमालेलेको विरोधका बाबजुद प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने सरकारको तयारी

२८ मंसिर, २०७४
काठमाडौं : मन्त्रिपरिषदको नियमित बैठक बिहिबार बस्दैछ। कामचलाउ अवस्थामा रहेको सरकारले आजको बैठकबाट प्रदेशको अस्थायी मुकाम र लगत्तै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

एमालेले भने काम चलाउ सरकारले कुनै ठूलो निर्णय गरे आफ्नो सरकार बनेपछि उल्ट्याउने निर्णय गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ‘अहिलेको काम चलाउ सरकारले जारी गरेको सबै निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारले खारेज गर्नेछ।’

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने प्रदेश प्रमुख नतोकिए प्रदेशसभाका जनप्रतिनिधिले सपथ समेत लिन नसक्ने भएकाले ‘स्वतन्त्र’ व्यक्तिलाई प्रमुखको रूपमा तोक्न लागिएको स्पष्ट पारेका छन् । परियारका अनुसार पूर्वाधारका आधारमा प्रदेशको अस्थायी राजधानी तोक्न खोजिएको हो । जसअन्तर्गत प्रदेश १ का लागि धरान, इटहरी वा विराटनगरमध्ये एक स्थानलाई राजधानी तोकिनेछ । प्रदेश २ को राजधानी जनकपुर वा वीरगन्जमध्ये एकलाई तोक्ने निर्णयमा सरकार पुगेको स्रोतले बतायो ।

यसअघि हेटौँडा, भरतपुरलगायतको नाम चर्चामा आए पनि ललितपुर वा भक्तपुरमध्ये एक स्थानमा प्रदेश ३ को राजधानी बन्ने बताइएको छ । प्रदेश नम्बर ४ को राजधानीका लागि एक मात्र विकल्पको रुपमा पोखरालाई हेरिँदा प्रदेश ५ का लागि दाङ वा बुटवल, प्रदेश ६ का लागि सुर्खेत र प्रदेश ७ को राजधानी दिपायललाई तोकिने भएको हो ।

अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल समेत तोक्ने तयारी भएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *