ललितपुर र भक्तपुरका ४ क्षेत्रमा विवेकशील साझाका उम्मेदवारको जमानत जफत

२७ मंसिर, २०७४
काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर र ललितपुरमा विवेकशील साझाबाट उम्मेदवार बनेकाहरुको जमानत जफत भएको छ। प्रतिनिधिसभातर्फ भक्तपुरका दुवै क्षेत्र र ललितपुरका तीनमध्ये दुई क्षेत्रका उम्मेदवारको जमानत जफत भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका भक्तपुर र ललितपुरका ४ उम्मेदवारले मतदान गरिएको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत जफत भएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ भन्ने उल्लेख छ।

जमानत जफत हुनेमा भक्तपुर क्षेत्र नम्बर १ का विवेकशील साझाका उम्मेदवार दिपेश न्यौपाने रहेका छन्। न्यौपानेले जम्मा २ हजार ३ सय ३० मत ल्याएका छन्। ९४ हजार १ सय ६४ मतदाता रहेको भक्तपुर १ मा ७२ हजार १ सय ६८ मत गणना भएको थियो। यो गणनाका क्रममा सदर भएको मत हो।

भक्तपुर २ का शशिविक्रम कार्कीको पनि जमानत जफत भएको छ। उनले १ हजार ७ सय ८४ मत ल्याएका छन्। उक्त क्षेत्रमा ८३ हजार ९ सय ३० मतदाता रहेकोमा खसेको कुल मतमध्ये ६४ हजार ४ सय ५३ मत सदर छ।

यसैगरी, ललितपुर १ र २ का उम्मेदवारको पनि जमानत जफत भएको छ। ललितपुर ३ का उम्मेदवार उज्ज्वल कृष्ण श्रेष्ठ भने जमानत जफत हुनबाट बचेका छन्। उनले कुल सदर मतमध्ये १० प्रतिशत भन्दा बढी मत ल्याउन सफल भएका छन्।

ललितपुर १ का उम्मेदवार केशवप्रसाद तिमल्सिनाको भने जमानत जफत भयो। उनको २ सय ५५ मत आएको छ। उक्त क्षेत्रमा ६५ हजार ९ सय १८ मतदाता रहेकोमा कुल खसेको मतमा ५० हजार ९ सय ७१ मत सदर छ।

यस्तै, ललितपुर २ का उम्मेदवार अमिरराज महर्जनको थोरै मतले जमानत जफत भएको छ। उनको ५ हजार ४ सय ८ मत आएको छ। उक्त क्षेत्रमा ५४ हजार ५ सय ११ मत सदर मत खसेको थियो। महर्जनको ४३ मत कम आएका कारण जमानत जफत भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *