प्रदूषण बढेसँगै कालीगण्डकी नदीको अस्तित्व नै खतरामा

२७ मंसिर, २०७४
म्याग्दी : वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी भएपछि कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएको छ । योसँगै कालीगण्डकी नदीको अस्तित्व नै खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर र रसायनयुक्त पानी तथा अनियन्त्रित रुपमा ढल मिसाउने जस्ता गलत मानवीय कारणले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बनेको हो । दामोदर कुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बाग्लुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रसस्तै जैविक तथा औद्योगिक फोहोर मैला मिसिने गरेको छ ।

 

हिन्दूधर्मावलम्वीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका साथै शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रुपमा कालीगण्डकीलाई लिने गरिन्छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवम् वातावरणीय हिसावले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवम् मित्र जीवको सट्टा हानीकारक शत्रु जीवको उर्वर वासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले तत्काल नदी संरक्षणको पहल सुरु गर्न सरकारसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *