बिपिएलको उपाधि राइडर्सको पोल्टामा, गेलको ब्याटबाट छक्काको वर्षा

२७ मंसिर, २०७४
ढाका : आक्रामक ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि हासिल गरेको छ । उसले ढाका डाइनामाइट्सलाई ५७ रनले पराजित गर्दे पहिलो पटक उपाधि हात पारेको हो ।

गएराति ढाकास्थित शेरे बंग्ला राष्ट्रिय रंगाशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राइडर्सले निर्धारित २० ओभरमा मात्र १ विकेटको क्षतिमा २ सय ६ रनको विशाल योगफल तयार गरेको थियो । राइडर्सका लागि क्रिस गेलले शतकिय पारी खेले । प्लेयर अफ दि म्याच तथा प्लेयर अफ दि टुर्नामेन्ट समेत बनेका उनले ६९ बलको सामना गर्दै अविजित १ सय ४६ रन बनाए । त्यस्तै ब्रेन्डन म्याकुलमले अविजित ५१ रनको योगदान दिए । डाइनामाइट्सका लागि एक मात्र विकेट सकिव अल हसनले प्राप्त गरे ।

२ सय ७ रनको लक्ष सहित मैदानमा उत्रिएको डाइनामाइट्सले ९ विकेटको क्षतिमा १ सय ४९ रन मात्र जोड्न सक्यो । उसका लागि जहुरुल इस्लामले सर्वाधिक ५० तथा हसनले २६ रनको योदान दिए । डाइनामाइट्समाथि सहज जित निकाल्ने क्रममा सुहाग, गाजी र उदानाले समान २२ विकेट लिए ।

गेलको ब्याटबाट छक्काको वर्षा


फाइनल म्याचमा गेलको ब्याटबाट छक्काको वर्षा नै भयो । उनले एकै इनिङमा १८ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । यसअघि उनकै नाममा १७ छक्काको कीर्तिमान थियो । गेलले फाइनलमा ६९ बलमा १४६ रन बनाए । उनले १८ छक्को अतिरिक्त पाँच चौका पनि प्रहार गरे । यो म्याचमा उनले २० औं शतकसमेत पुरा गरे । टि–२० मा २० औं शतक पुरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

गेलको नाममा किर्तिमान नै किर्तिमान
वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान गेलले टि–२० क्रिकेटमा ११ हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यानका रुपमा समेत आफ्नो नाममा कीर्तिमान बनाएका छन् । उनले बंगलादेश प्रिमियर लिगमा १ सय छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यानका रुपमा पनि आफूलाई नै उभ्याएका छन् । हालसम्म उनले टि–२० मा ८ सय १९ छक्का प्रहार गरिसकेका छन् ।

यो सूचीमा दोस्रो नम्बरमा रहेका वेस्ट इन्डिजकै अर्का खेलाडी किरन पोलार्डको नाममा ५ सय ९ छक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *