टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी झण्डै २१ हजार मतान्तरले विजयी

 

कैलाली, मंसिर २६ ।
प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् ।

चौधरी ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् ।

चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४ सय ६ मत मात्र पाइन् । चौधरी र शाह बीचको मतअन्तर २० हजार ९ सय ३५ छ । कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २ सय ३ छ । चैधरीले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

यसैगरी प्रदेशसभातर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्र नम्बर १ ‘क’ मा राजपाका उममेदवार १२ हजार १ सय ८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् । नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३ सय ८ मत मात्रै प्राप्त गर्न सफल भएका थिए ।

यसैगरी क्षेत्रनम्बर १ ‘ख’मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४ सय ३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी)ले ८ हजार ९ सय ६ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *