जन्मदिनमा हरिवंश-‘लेखापालदेखि चर्चित हाँस्य कलाकारसम्म’

हाँस्य अभिनेता हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाउँदैछन् । ब्राम्हण परिवारमा जन्मिएका, बाल्यकालमा अनेकन दुख झेलेका, वैंशालु उमेरबाट कलाकारितामा जमेका उनले जीवनको यो मोडसम्म थकाई मारेका छैनन् । विश्राम लिएका छैनन् । निरन्तर कलाकारितामा जमेका छन् ।

हरिवंश लेख्छन् पनि । गाउँछन् पनि । तर, उनको खास चिनारी हाँस्य अभिनेताको रुपमा छ । र, यसमा छुटाउनै नमिल्ने नाम हो, मदनकृष्ण श्रेष्ठ । ‘मह ।’ यहि गुनिलो नाममा उनीहरुले कलायात्रा प्रारम्भ गरे । आजको दिनसम्म यो सहकार्य जारी छ । यसबीचमा ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता दर्जनौ सम्झनलायक हाँस्य शृंखला तथा टेलिफिल्म जन्मिए । दुबै गीत गाए । स्टेज तताए । देश-विदेश चाहारे

यस्ता छन् हरिबंशका जीवनका रहस्य

हरिवंशको जीवन आफैमा उतारचढावपूर्ण रह्यो । उनले पुस्तक ‘चिना हराएको मान्छे’ मार्फत आफ्नो जीवनलाई पछाडि फर्केर हेरेका छन् । कसरी एउटा ब्राम्हण परिवारका छोरो ‘हरिवंश’ भयो भन्नेसम्मका रोचक कथा पुस्तकमा पढ्न पाइन्छ । अतः उनको जन्मदिनको मेसोमा यहाँ उनको जीवनसँग जोडिएका केहि रोचक कुराहरु प्रस्तुत गरिएको छ ।

– अक्सर हासमुख देखिने र टेलिभिजन पर्दामा, स्टेजमा अनेक भावभंगीका साथ पेश भएर हसाँउने हरिवंश निजी जीवनमा भने सौम्य छन् । गंभिर छन् ।

– हरिवंश जतिबेला जन्मिए, त्यसबेला उनको बुवाको उमेर ७३ बर्षको थियो । बुवा चाहन्थे, ‘हरिवंश पण्डित बनोस्, आफुजस्तै ।’

– हरिवंशले बाल्यकालमा संस्कृत पढे, बुवाकै इच्छा शिरोधर गर्दै । तर, उनले संस्कृत घोकिरहादा उनका पिता थिएनन् । उनी ६ बर्षको छादा बुवाको निधन भयो । त्यसपछि उनलाई आमाले ठमेलको वेद वेदाङ्ग विद्यालयमा भर्ना गराइदिए ।

– पारिवारिक संस्कार अनुरुप हरिवंशले टुप्पी पाल्नुपथ्र्यो । तर, उनलाई त्यो टुप्पीप्रति रुची थिएन । उनी टोपी लगाएर टुप्पी लुकाउने चेष्टा गर्थे ।

– खाना खानुअघि चण्डी पाठ गर्नैपर्ने चलन थियो, घरमा । तर, यो उनको लागि बोझिलो थियो । उनले चन्डीको मोटा पुस्तकको पाना च्यात्दै पातलो बनाएको किस्सा सुनिन्छ ।

– उनले ११ बर्षको उमेरमा आमा गुमाए ।

– हरिवंशले २०५३ सालमा थर्ड डिभिजनमा एसएलसी उत्तिर्ण गरेका हुन् ।

– बुवाआमा वितेपछि पारिवारिक जिम्मेवारी उनको काँधमा थियो । किशोरवयमै उनी घरव्यवहारमा फसे । उनले गैरीधाराको सगोलको घर बेचे । तर, त्यसवापत पैसा पाएनन् । यहि निहुँमा उनले एघार बर्ष मुद्दा धाए ।

– हरिवंशले सुरुवाती अवस्थामा रत्नराज्य स्कुलमा लेखापालको काम गरे । त्यसबेला उनकेा तलब १ सय ३५ रुपैयाँ थियो ।

– आफ्नै कमाई हुन थालेपछि हरिवंश भैरव नृत्य दलमा नाच्न सिक्न जान्थे । जितेन्द्र महत ‘अभिलाषी’कहाँ नाटक खेलाइदिनका लागि धाउथे ।

– नाटक खेल्ने क्रममा उनले आफुलाई निखार्दै गए । त्यसबेला राजपरिवारका सदस्य नाटक हेर्न आउँथे । हरिवंशको अभिनयले उनीहरुको मन जितेको थियो । त्यही कारण हरिवंशले नाटकबाट पारिश्रमिक पनि पाउन थालेका थिए ।

– करियरको पूर्वाद्धमा हरिवंशले बिवाह गरे, मीरा आचार्यसँग । उनीहरुको कोखबाट दुई सन्तान जन्मिए त्रिलोक र मोहित ।

– हृदय रोगको कारण मीराको मृत्यु भयो । त्यसले हरिवंशलाई निकै विचलित बनायो । उनी डिप्रेसनग्रस्त भए । त्यही ताका उनमा आत्माहत्या गर्नेसम्म सोंच आउने गरेका उनले खुलाएका छन् ।

– पत्नी वियोगको पीडा छल्न उनले कलम चलाए । त्यसैको नतिजा थियो, चिना हराएको मान्छे । यो आत्मावृतान्तसँगै उनी पुन तंगि्रए ।

– हरिवंशले पारिवारिक र शुभेच्छुकको सुझावमा दोस्रो विवाह गरे, रमिला पाठकसँग । रमिला एकल महिला थिइन् । उनीहरुको विवाह २०६९ सालमा भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *