मतदाताहरु परिचय पत्र लिन आएनन्

सरला सुवेदी
कोहलपुर, २० मंसिर,
भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै जिल्लाहरुमा परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश मतदान केन्द्रहरुमा मतदाताहरुले परिचय पत्र लिएका छैनन् ।

तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले बुधबार डुडुवा गाँउपालिका अन्तरगतका वडाहरु र नेपालगंज उपमहानगरपालिका वडा नं. ६ मा मतदाताहरु परिचय पत्र लिनेहरुको संख्या न्युन रहेको जनाएको छ ।

नेपालगंज वडा ६ हडियाबाबा मतदान केन्द्रमा २०८३ मतदाता रहे पनि हालसम्म २०० जनाले मात्रै परिचय पत्र लिएको मतदान अधिकृत मधुसुधन रेग्मीले बताए । त्यस्तै डुडुवा गाँउपालिका वडा नं. २ को ने.रा.प्रा.वि सन्तलियमा रहेको मतदान केन्द्रमा १२२८ मतदातामध्ये १३१ जनाले मात्रै परिचय पत्र लिएका छन् । मतदान अधिकृत कृष्ण बहादुर केसीले स्थानीय निर्वाचनमा परिचय पत्र लिएकाहरु पुनः लिन नआएको बताउदै नयाँ मतदाताहरुमा निर्वाचन सम्बन्धी शिक्षाको कमिका कारण परिचय पत्र लिन नआएकोे बताए ।

थर्ड एलायन्सका उप–क्षेत्रीय प्रमुख आलम खानले गाँउसम्म मतदाता शिक्षा पुग्न नसकेको कारणले मतदाताहरु परिचयपत्र लिन नआएको हुन सक्ने बताए ।

खानले संयमित र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन सबै राजनीतिक दलहरुलाई समेत आग्रह गर्दै मतदाताहरुलाई निर्भयतापूर्वक आफ्नो मताधिकारको प्रयोग गर्न अपिल पनि गरे ।

भोलि हुने दोस्रो चरणको यो निर्वाचन ४५ जिल्लाहरुमा हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *