दलका कार्यकर्तालाई नबोक्नुः पत्रकार महासंघ बाँके

नेपालगंज, २० मंसिर,
भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा नेपाल पत्रकार महासंघ बाँकेले कुनै पनि दलका उम्मेदवार तथा कार्यकर्ताहरुलाई नबोक्न बाँके जिल्लाका सबै संचारमाध्यमहरुलाई अनुरोध गरेको छ ।

महासंघका सचिव तिलक गाउँलेको हस्ताक्षर सहित जारी गरेको प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको सवारी साधनको पासलाई दुरुपयोग नगर्न अनुरोध गरिएको छ । महासंघले निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई निर्वाध ढंगबाट समाचार संकलन र संप्रेषण गर्न यहाँका क्रियाशिल सन्चारकर्मीहरुलाई अनुरोध पनि गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘महासंघको सहकार्यमा उपलब्ध गराइएको सवारी पास अनुमतिपत्र प्राप्त सवारी साधनमा पत्रकार र सन्चार क्षेत्र बाहेकका कुनै पनि व्यक्ति, मतदाता, राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरुलाई नराख्न, नबोक्न सचेत गराईन्छ । पत्रकारले आफूले प्रयोग गर्ने सवारी साधनको दुरुपयोग गरेको वा गर्न लगाएको पाइएमा महासंघ कडाभन्दा कडा कार्वाही गर्न बाध्य हुनेछ ।’

विज्ञप्ती मार्फत निर्वाचनका बेला सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै ऐतिहासिक निर्वाचनको समाचार संकलन र संप्रेषण गर्न महासंघ आहृवान गर्दछ भनिएको छ । साथै, मतदान र मतगणनाको समयमा समाचार संकलन र छायांकनको सहज व्यवस्था गर्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *