गजल गायन, वाचन र नृत्यको त्रिवेणी बन्यो ‘गजल मुशायरा’

ब्रिसबेन ।
सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिदैँ आएको गजल कार्यक्रम ‘गजल मुशायरा’ यस पटक ब्रिसबेनमा सम्पन्न भएको छ । ४ वटा श्रृंखलाहरू सिड्नीमा सम्पन्न गरिसकेपछि गजल मुशायरा परिवारले पहिलोपटक सिड्नी बाहिर गजल मुशायरा कार्यक्रम आयोजना गरेको हो ।

गत आइतबार ब्रिसबेनको नर्थगेट स्थित ब्रिसबेन सिटी काउन्सिलको हलमा भएको कार्यक्रममा १२ जना गजलकारहरुको गजल वाचनका अलावा गजल गायन र गजल नृत्यले समेत उपस्थित दर्शकसामु रोचकता थपेको थियो।

जव एडिलेडकी विष्णु तामाङले यी शेरहरुमार्फत गजल वाचनको क्रमलाई अघि बढाईन्, हलमा उपस्थित दर्शकहरुले कार्यक्रमको रौनकताको अन्दाज लगाई सकेका थिए ।

जब समयले कोल्टे फेर्न सिकाउँदै थियो
यो विचित्र संसार हेर्न सिकाउँदै थियो

ब्रिसबेनमा पहिलो पटक आयोजना गरिएको विशेष कार्यक्रममा सिड्नीका ओमराज अधिकारीले प्रेमिल गजल सुनाउँदा माहोल अझै विशेष बनेको महशुष हुन्थ्यो ।

मेरो प्रेम छ उनको ठट्टा छ
उनको ठट्टा मेरो काल छ यार

ओमराज अधिकारीका जस्तै माधव अधिकारीका शेरहरुले पनि दर्शकहरुलाई जुरुक्क उचालेको थियो ।

आजै गरौँ रमाईलो भोली के हो के हो
हल्का हल्का भए पनि पिएर त हेर प्रिय

निकै जोशका साथ वाहवाह भन्दै र ताली बजाउँदै सयौँ मनहरु एकत्रित भएको गजल-उत्सवमा ब्रिसबेनका गजलकार राजेन्द्र अधिकारीले जब यो शेर वाचन गरे, तब दर्शकले उनलाई यो शेर नदोर्याइ धरै दिएनन् ।

पानीमा डुबेकालाई पो तानेर निकाल्न सकिन्छ त
प्रेममा डुबेकाको कुरै नगर्नुस् आफैँ डुब्छन् आफैँ उत्रिन्छन्

गजल प्रेम, प्रणय र दर्शनका मात्रै थिएनन्। जीवन र जगतका पनि थिए, देश-परदेशका पनि थिए। देश बाहिर रहेपनि आफ्नो देशमा भएका हरेक घटनाहरुको बारेमा नेपालीहरु जानकारी राख्छन् । त्यसमाथि गजलकार र कविहरुका लागि त देशका घटनाहरु आफ्ना रचनाका विषयवस्तु नै बन्छन् । यतीबेला नेपालमा चुनावी माहोल छ । यहि माहोलमा गजलकार केशव शर्माले आफ्नो घरआँगनमा भोट माग्न व्यस्त उम्मेदवारलाई कटाक्ष गर्न भ्याए ।

के जितेर माला ठुलो लगाउनु भो बुझिएन
बोल्दा कुरा फेरी पनि चपाउनु भो बुझिएन

देशकै राजनीति र परिवेषको पिडामा गजलकार विक्रम तिमिल्सिनाले यी शेरहरु सुनाईरहँदा ब्रिसबेन सिटी काउन्सिलको हल दर्शकहरुको तालीले गुन्जिएको थियो ।

मुटु बेच्छन् जनता किड्नी बेच्छन् जान्दछ ऊ
र त सस्तैमा तिनको रहर किन्यो रे उसले

परदेशमा भए पनि दुख्ने त देशै रहेछ। अझ पिडा थप्ने त फोहोरी बनाइएको राजनीतिले नै रहेछ। र त गजलकार मन्दिरा सापकोटा भन्दै थिइन् ।

देश बेच्नेले त सत्तामा वाह वाह पाइसके
अब न्याय पाउन बलात्कारी बाँकी छ

मन्दिराले यो शेर सुनाउँदा केहि भावुक दर्शकलाई जितेन्द्र मल्लले तत्काल माया नै माया, हाँसो र उल्लासमा डुबाइदिए ।

तिम्रो आगमनले खुशि दोब्बर थपियो
मानौँ अल्टरको डुब्लीमा अल्टर थपियो

 

 

एकपछि अर्को गर्दै गजलकारहरले गजल सुनाईरहे उता दर्शक पनि गजलका शेरहरु सुन्न मस्त थिए । अरु समयमा काम तथा पढाईमा व्यस्त रहने भएकोले पनि दर्शकका लागि गजल मुशायरा हतारो, तनाव र थकाई बिर्सने माध्यम बनेको थियो । यहि क्रममा गजलकार राजेश्वरी रेग्मी आचार्य पनि गजल मार्फत देशको प्रेम यसरी पोख्दै थिईन् ।

देश रोएको हेर्न सक्दिन भन्थें म
हेरिरहेछु आफैलाई लाचार बनाएर

गजलकार सन्तोषी लामिछानेले आफ्नो शेरमा गरिवी र कलम बिचको अन्तर्सम्बन्ध समेत खोतल्ने प्रयास गरिन् ।

गरिबीले कलमको भार थेग्न सक्दैन र त
कलिला हातमा ठेला उठ्नेछन बालापन मरेपछि

सन्तोषी लामिछानेले आफ्ना गजल मार्फत दर्शकहरुलाई भावुक बनाउँदै गर्दा अर्की गजलकार सिर्जना थापा माया प्रेमको भाव गजलमा यसरी अभिव्यक्त गर्दै थिइन् ।

मायाका सतही छाल उस्तै-उस्तै
तिम्रो नजर फसाउने जाल उस्तै-उस्तै

अष्ट्रेलियामा अधिकांश नेपालीहरु उच्च शिक्षा अध्ययन गर्न पुग्ने गरेका छन् । काम र अध्ययनलाई एकैसाथ अगाडि बढाउनु झन् विद्यार्थीहरुलाई बाध्यता नै बन्ने गरेको छ । गजल वाचनको क्रममा अन्त्यतिर शिवजी भण्डारी मञ्चमा उक्लिए र आफ्नो गजल वाचन गर्न थाले । उनका गजलका शेरहरुले तिनै दर्शकहरुलाई नोस्टाल्जिक बनाइदियो जो विद्यार्थीको रुपमा यहाँ आएका छन् ।

मेरो देशमा त किताब मात्र पढाइन्छ
असली जिन्दगी परदेश आएर पढियो

गजल वाचन कै लागि गजल मुशायरा सिड्नीका संयोजक जितेन्द्र मल्लसँगै गजलकारहरु सिर्जना थापा, ओम राज अधिकारी, शिवजी भण्डारी र माधव अधिकारी ब्रिस्बेन पुगेका थिए ।

कार्यक्रममा वाचनका अलावा नृत्यले समेत दर्शकको भरपुर साथ पाएको थियो । आफ्नो गजल वाचनबाट दर्शकको ध्यान तानेकी गजलकार विष्णु तामाङले गजलमा नै नृत्य गर्दै आफुलाई दुबै विधामा अब्बल रहेको सावित गरिन् । एकनारायण भण्डारीको शब्द र संगीत तथा अञ्जु पन्तको स्वर रहेको गजल तीर्खा लाग्यो पानी खाएँु मैले के बिराएँ बोलको गजलमा कुमारी आचार्यले पनि सम्झनलायक नृत्य प्रस्तुत गरिन् ।

ब्रिसबेन संस्करणको रुपमै कार्यक्रम आयोजना गरिएको हुनाले यहाँका सर्जक तथा दर्शकहरुको उपस्थिती बढी थियो । केशव शर्मा, विक्रम तिमिल्सिना, राजेन्द्र अधिकारी, राजेश्वरी रेग्मी आचार्य र मन्दिरा सापकोटाले आफ्ना रोज्जा गजल सुनाउँदा वाचनकै लागि मकाइबाट आएकी थिइन् सन्तोषी लामिछाने।

कार्यक्रम सञ्चालकको भुमिकामा रहेपनि गजलकार आशिष न्यौपानेले बिचबिचमा आफ्ना गजलका शेरहरु सुनाउँदै कार्यक्रमलाई अझै चाखलाग्दो बनाउने कोशिष गरिरहेका थिए । प्रेममा बलिदानका भावलाई उनले आफ्ना शेरमा यसरी पोख्न भ्याए ।

तिम्रा अमुल्य आँशु कहिल्यै नझरुन्
बरु मेरै छन् मूल्यहीन झार्छु के छ र

गजल वाचन र नृत्यपश्चात् पालो आयो गायनको । ब्रिसबेनमै रहेर संगीत सृजनामा तल्लिन गायक विश्व बस्नेतले आफुलाई गजल गायकका रुपमा मञ्चमा उभ्याए । सो क्रममा उनले २ गजलमा सुमुधुर आवाज दिए ।

विदेशमा रहँदा व्यस्तता तथा सर्जकहरु एकजुट हुन दुरीका हिसाबले टाढा पर्ने भएकोले पनि निकै कम मात्रै कार्यक्रमहरु आयोजना हुने गर्दछन् । पछिल्लो समय विषम परिस्थितीका बाबजुद पनि गजल मुशायराले आफ्ना श्रृंखलाहरु भने निरन्तर आयोजना गरि रहेको छ जसले दर्शक र सर्जकबिचको दुरी घटाउन सघाउ पुर्याएको छ ।

नेपाललगायत अन्य देशमा पनि वाचन र गायनमा गजललाई प्रस्तुत गरिएको भएपनि आफुहरुले गजलमा नृत्य पनि गर्न सकिन्छ भन्ने हिसाबले केहि फरकपन दिन खोजेको कार्यक्रम संयोजक केशव शर्माले बताए। कार्यक्रममा दर्शकहरुको उपस्थिती र सकरात्मक प्रतिक्रियाले आफुहरु उत्साहित भएको बताउँदै संयोजक शर्माले यस्ता कार्यक्रमले गजलमा कलम चलाउने सर्जकहरुमा थप उर्जा प्रदान गर्ने र नेपाल बाहिर रहे पनि नेपाली साहित्यको प्रवद्धनमा भुमिका खेल्न सकिन्छ भन्ने प्रमाणित गरेको दावि समेत गरे ।

उनले आगामि दिनमा यस्ता कार्यक्रमहरु निरन्तर आयोजना हुने कुरामा आफु विश्वस्त रहेको समेत जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *