चितवनको माडीमा आज बाम गठबन्धनको चुनावी सभा, ओली र दाहालले सम्वोधन गर्ने

चितवन, मंसिर १७ ।

चितवनको माडीमा आइतवार संयुक्त बाम गठवन्धनले वृहत्त चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी पुगेका छन् । संयुक्त बाम गठवन्धन निर्वाचन परिचालन कमिटी माडीको आयोजनामा हुने वृहत्त चुनावी सभाको तयारी पुरा भएको निर्वाचन क्षेत्र नम्वर ३ सचिवालय सदस्य नारायण पौडेलले जानकारी दिए ।

वसन्तपुरको खुल्ला चौरमा हुने सभामा हास्य कलाकार मनोज गजुरेल, गायक बद्री पंगेनी, चेतन सापकोटा लगायतका कलाकारको पनि सहभागिता रहने आयोजक कमिटिका संयोजक सुमन शर्मा बरालले जानकारी दिनुभयो । चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम गठबन्धनको साझा उम्मेद्वार छन्। प्रचण्डका निकै कडा प्रतिस्पर्धी मानिएका लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डे पनि सोही क्षेत्रको उम्मेद्वार हुन् । सो क्षेत्रमा विजयी हुन माडीको भोट निर्णायक मानिएकाले पनि दुवै गठबन्धनले माडीमा पुरै शक्ति परिचालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *