उधौली पर्व, ज्यापु दिवस र धान्यपूर्णिमा एकै साथ मनाइँदै, योमरी पूर्णिमा पनि आजै

काठमाडौं, मंसिर १७ ।
धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । यसै अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।

यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् । योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ ।

जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पुर्णिमा अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक र्याली र्याली सहितको कार्यक्रम गर्दैछ ।

यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । १४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यतामा गर्ने कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिने बताइएको छ । कोषले २०६० सालदेखि योमरी पुर्णिमाका दिन ज्यापू दिवस मनाउँदै आईएको हो ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

यसैगरी किँरात समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किँरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चलनअनुसार मनाइने नेवार समुदायको उधौली, राष्ट्रिय ज्यापू दिवस एवम् योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली संस्कृतिको प्रतिनिधिका रुपमा नेवारी संस्कृतिलाई पनि मान्ने गरिएको र नेवारी संस्कृति मूलरुपमा ज्यापू संस्कृति रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेवार समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *