खराब ब्याटिङ गरेपछि डब्लुसिएलअन्तर्गतको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित
काठमाडौं, मंसिर १५ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत सातौं चरण खेल्न युएई भ्रमणमा रहेको नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको छ। शुक्रबार दुबईमा भएको अभ्यास खेलमा नेपाललाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो।
नेपालले दिएको ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पार गर्यो। अमेरिकाको जितमा ओपनर सइद अब्दुल्लाहले ४४ रन बनाए। सागर पुनको बलमा आउट हुनुअघि उनले ४० बलमा ३ चौका र ३ छक्का हिर्काएका थिए। यस्तै, रोए सिल्भाले नटआउट २५ तथा तमिल पटेलले नटआउट ७ रन जोडे। सिल्भाले २८ बलमा ३ छक्का प्रहार गरे। ओपनिङ ब्याट्सम्यान सागर पटेल ३ रन बनाएर खेलिरहँदा सोमपाल कामीको एलबिडब्लूको धरापमा परेका थिए। सोमपालले लगत्तै निरास पटेललाई शून्य रनमा बोल्ड गरे। यस्तै इब्राहिम खालिल र म्रुनाल पटेल ४–४ रनमै पेभेलियन फर्के। बलिङतर्फ नेपालका सोमपाल कामी र सागर पुनले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङको नमूना प्रस्तुत गरेको थियो। नेपाल ३६.१ ओभरमा ८९ रनमै अलआउट भयो। नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे। उनले ३१ बल खेल्दा २ चौका हिर्काए। ओपनिङमा आएका दिलीप नाथले १६ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
शरद भेषावकरको कप्तानीमा उत्रिएको नेपालले युवा खेलाडीलाई मौका दिएको थियो। दिलिपसँगै अनिलकुमार साह र कुशलले पहिलो रोजाइमा खेलेपछि ब्याटिङमा जम्म सकेनन्। कप्तान शरदसँगै अनिल शून्य रनमा आउट भएका थिए। नियमित कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भन्डारी र शक्ति गौचनलाई आराम दिइएको थियो। नेपाललाई सस्तैमा समेट्ने क्रममा अमेरिकाका जापेन पटेलले ४ विकेट लिए। रोए सिल्भा र नोस्तुस केन्जीले २–२ विकेट हात पारे।
डिभिजन–३ मा रहेको अमेरिकाको हालका प्रशिक्षक पुबुदु दासानायके हुन्। उनी नेपालका पूर्व प्रशिक्षक हुन्। अब नेपालले दोस्रो अभ्यास खेलमा आइतबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ। डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसैले अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चार भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
(तस्विर : क्रिक नेपाल डट कम)