ट्रम्प आफैंले सेयर गरे ‘फेक’ भिडियो

काठमाडौं, मंसिर १५ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ शब्द चर्चामा ल्याएका छन्– फेक न्युज। उनी आफ्नो विरोध गरिएका प्रायः सबै समाचार फेक अर्थात् गलत भनिदिन्छन्। उनलाई फेक र रियल अर्थात् वास्तविकता ठूलो चासो छ जस्तो देखिन्छ किनकी उनले आफ्नो ट्वीटर ह्यान्डलमा नामका अगाडि रियल थपेका छन्।

दुई दिनअघि उनको रियल डोनाल्ड ट्रम्प ह्यान्डलबाट तीन वटा भिडियो रिट्वीट भए। ती तीनै भिडियो मुस्लिमप्रति पूर्वाग्रही भएर ट्वीटरमा राखिएको थियो। बेलायती दक्षिणपन्थी दल ब्रिटेन फर्स्टकी नेता जेदा फ्रान्सेन राखेको भिडियो अमेरिकी राष्ट्रपतिले सेयर गरेर अनावश्यक चर्चा र विवाद ल्याएको भन्दै बेलायती प्रधानमन्त्री कार्यालयले आपत्ती जनायो।

जवाफमा ट्रम्पले ट्वीटरमै बेलायती प्रधानमन्त्री थेरेसा मेलाई आफूलाई भन्दा बढी मुस्लिम आतंकवादीलाई ध्यान देऊ भनेर लेखिदिए। ट्रम्पले दुई दिनअघि रिट्वीट गरिएका भिडियो भने फेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनले रिट्वीट गरिएको पहिलो भिडियोमा नेदरल्यान्डमा आप्रवासी मुस्लिम युवकले डच किशोरलाई कुटेको भनेर लेखिएको थियो। तर यो वर्षको सुरुमा सार्वजनिक भएको त्यो भिडियोमा देखिने युवक मुस्लिम र आप्रवासी नभएको डच प्रहरीले जनाएको छ।

अर्को भिडियो मुस्लिमहरूले एक युवकलाई मरुञ्जेल कुटेको र छतबाट फालिदिएको भनेर लेखिएको छ। सन् २०१३ तिर इजिप्टमा खिचिएको यो भिडियोका पछाडि धार्मिकभन्दा पनि राजनीतिक कारण रहेको खुलेको छ। त्यो भिडियोमा इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीका समर्थकले ती युवकलाई कुटेर मारेका थिए। सन् २०१५ मा यो इन्टरनेटमा भाइरल भएको थियो।

अर्को भिडियोमा मुस्लिमले भर्जिन म्यारीको मुर्ति भत्काइदिएको भनेर सार्वजनिक गरिएको छ। त्यो भिडियो सन् २०१३मा सिरियामा खिचिएको भनिए पनि पुष्टि हुन सकेको छैन। इस्लामिक अतिवादी समूहका सदस्य भर्जिन म्यारीको मुर्ति भत्काएको विषयमा मुस्लिम समुदायले नै गलत भएको प्रतिक्रिया दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *