८४ वर्षअघि भत्किएको मल्लकालीन मन्दिर बल्ल पुनर्निर्माण हुँदै

काठमाडौं, मंसिर १५
नब्बे सालको भुइँचालोले पाटन दरबार क्षेत्रका धेरै सम्पदा भग्नावशेष बनाएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाका पहलमा सबैजसो मन्दिर पुनर्निर्माण भए। एउटा भने त्यसै रह्यो– भाइदेग। भाइदेग मन्दिरले भत्किएको ८४ वर्षपछि फेरि आफ्नो संरचना पाउँदै छ।

पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका पालामा चौतारिया भारो भागिरथ भैयाले भाइदेग मन्दिर स्थापना गरेका थिए। विसं १६७८ मा निर्माण भएको यो मन्दिर पाटन क्षेत्रका अन्य मठमन्दिरझैं पगोडा शैलीमा बनेको थियो। तीन तल्ला भएको मन्दिर ९० सालको भुइँचालोले लगभग ध्वस्तै बनाएपछि पुनर्निर्माण भएन। यहाँको शिवलिंगलाई भने मुगल शैलीमा डोम आकार दिएर जर्गेना गरियो।

यो मन्दिरको नामाकरण चौतारिया भागिरथसँगै जोडिएको छ। संस्कृतिविद्हरूका अनुसार देगः को अर्थ मन्दिर र भागिरथ भैयाले स्थापना गरेको हुँदा यसलाई कालान्तरमा भाइदेग भनिन थालेको हो। मल्लकालीन सभ्यता झल्काउने यो मन्दिर भारतमा रहेको काशी विश्वनाथको प्रतिरूप भएको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन्। ‘यो मन्दिरसँग मल्लकालीन इतिहास जोडिएको छ, यसको पुनर्निर्माण हुनु एकदमै महत्वपूर्ण छ,’ उनले भने, ‘भाइदेगः मन्दिर जगेर्ना हुनु भनेको हाम्रो इतिहास र सम्पदा जर्गेना हुनु हो।’

मन्दिर पुनर्निर्माण भर्खरै सुरु भएको भने होइन। करिब ७८ वर्ष यसै छाडिएको मन्दिर ६ वर्षअघि पुनः पहिलेकै शैलीमा निर्माण गर्ने निर्णय भएको थियो। यसका लागि संस्कृतिविद् जोशी, पत्रकार कनकमणि दीक्षित, बैंकर पृथ्वीबहादुर पाँडे, वास्तुविद् एवं काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपिभिटी) का अध्यक्ष रोहित रञ्जितकार लगायतको ७ सदस्यीय सांस्कृतिक सम्पदा संरक्षण समूह बनाइयो।

पुनर्निर्माणको निर्णय भए पनि काम सुरु गर्नु चुनौतीपूर्ण थियो। यसको पुरानो स्वरूप र प्रयोग भएका सामान फेला पार्नै समय लागको संरक्षण समूहले जनाएको छ। बल्लतल्ल सन् १८५३ मा हेनरी आमब्रोस ओल्डफिल्डले चित्रमा उतारेका भाइदेग भेटिएको र त्यही आधारमा पुरानो स्वरूपमा फर्काउन लागेको संरक्षण समितिकी प्रशासन अधिकृत सनीता महर्जनले जानकारी दिइन्।

उनका अनुसार सन् १९२० मा पाटन दरबार क्षेत्रमा खिचिएको एउटा तस्बिरका आधारमा बनोट र आकार मापन गरिएको छ। ‘लामो समयपछि मन्दिर निर्माण गर्नु आफैंमा चुनौती हो,’ उनले भनिन्, ‘धेरै प्रयासपछि २०७१ सालको अन्त्यतिर काम थालेका थियौं। दुई महिना नपुग्दै भुइँचालो आयो। त्यसपछि काम रोकियो।’ २०७२ को भुइँचालोले मन्दिर पुनर्निर्माणमा थप सचेत बनाएको महर्जन बताउँछिन्। ‘त्यसपछि यहाँको माटो परिक्षण गरेर जगैदेखि फेरि बनाउन थालेका छौं,’ उनले भनिन्।

सुरुमा यो मन्दिरका काठमा कलात्मक बुट्टा कुँद्ने कालिगढकै कमी भएको संरक्षण समूहका अध्यक्ष संस्कृतविद् जोशी बताउँछन्। ‘ललितपुरका कालिगढ नपुगेर बुंगमति र भक्तपुरबाट बोलायौं। केही खम्बा पाटन संग्रहालयमा भेटिए। यिनै खम्बाका आधारमा अन्य भाग बनाउँदै छौं,’ उनले भने। संरक्षण समूहका अनुसार मन्दिर पुनर्निर्माणमा करिब ६ करोड रुपैयाँ लाग्नेछ। मन्दिरमा प्रयोग हुने काठ तथा इँटा अत्यन्त महँगो भएकाले लागत बढी भएको समूहले जनाएको छ।

नर्वेजियन दूतावास, नेपाल इन्भेस्टमेन्ट बैंक, ललितपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीयको सहयोगमा तीन वर्षमा पुनर्निर्माण सक्ने समूहको लक्ष्य छ। मन्दिरको तल्लो तल्लामा बुट्टा कुँदिएका ढोका हाल्ने काम सकिसकेको छ भने भुइँमा इँटा छाप्ने काम हुँदैछ। काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपिभिटी) ले मन्दिर पुनर्निर्माणमा प्राविधिक सहयोग गरेको छ।

(सेतोपाटि डट कमबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *