एमाले महासचिव पोख्रेलद्वारा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ३७ सिट जित्ने दावी

काठमाडौं, मंसिर १४ ।
वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ३७ सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १ सय ३७ सिट जित्ने दावी गरेका हुन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा ३७ सिटका लागि भएको चुनावमा ३२ वटामा जित्ने दावी गरे । ”प्रत्यक्ष तर्फका १ सय ६५ मध्ये १ सय ३७ सीट जित्छौ,’ उनले भने,’पहिलो चरणमा चुनाव भएका ३७ मध्ये ३२ सीटमा जित्छौं, अब दोस्रो चरणमा हुने चुनावमा १ सय २८ मध्ये एक सयदेखि १ सय ५ सिटसम्म जित्छौं ।”

महासचिव पोख्रेलले काठमाडौंका सबै क्षेत्र जित्ने दावी समेत गरेका छन् । यस्तै सोही अन्तरक्रिया कार्यक्रममा पोख्रेलले सुरक्षा सम्बन्धमा सरकार गैरजिम्मेवार रहेको भन्दै शंका व्यक्त गरेका छन् ।

उम्मेदवारहरुलाई लक्षित गरी बम पड्किरहेको बेला गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमै विस्फोटक बस्तुहरु भेटिएको भन्दै उनले शंका व्यक्त गरे । ”विप्लवले बम विष्फोट गरेको भए जिम्मा लिनु पर्ने हो,’ उनले भने,’सरकार गम्भीर छैन, गुल्मीका कांग्रेस कार्यकर्ताको घरमा विष्फोटक बस्तु भेटिएको छ, त्यो किन राखिएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *