हिउँदमा देशभरि लोडसेडिङ नहुने, भारतबाट ४७० मेगावाट विद्युत ल्याइने

काठमाडौं, मंसिर १३ ।
यो वर्ष कात्तिकमै ह्वात्तै जाडो बढ्यो। छिट्टै बढेको चिसोले हिमालमा हिउँ जम्यो। हिउँ जमेपछि नदीमा पानीको बहाव कम भयो। त्यसको सोझो असर पर्यो, बिजुली उत्पादनमा।

नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी एबाट मंसिर पहिलो साता पोहोरभन्दा २२ मेगावाट बिजुली कम उत्पादन भयो। १४४ मेगावाट क्षमताको यो आयोजनामा दिनभरि पानी जम्मा गरेर पिक आवरमा बिजुली निकालिन्छ। पानीको बहाव कम भएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी पनि पोहोर यही समयभन्दा ८ मेगावाट र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीमा १० मेगावाट बिजुली कम उत्पादन भयो। देशभरिका आयोजनामा यो साल मंसिर पहिलो साता पोहोरभन्दा झन्डै ४५ मेगावाट बिजुली कम उत्पादन भयो।

बिजुलीको माग भने नदीमा पानीको बहाव घट्नुअघि बढीसकेको थियो। पोहोर लक्ष्मी पूजाको साँझ देशभरि १ हजार ४ सय ४४ मेगावाटले बत्ती बाल्न पुगेको थियो। यसपालि लक्ष्मीपूजाको साँझ १ हजार ५ सय ८ मेगावाट बिजुली खपत भयो। यो हिउँदमा बिजुलीको माग पोहोरभन्दा १ सय ४५ मेगावाट बढ्ने प्राधिकरणको प्रक्षेपण छ। पोहोर माघ–फागुनमा बिजुलीको माग १ हजार ३ सय २५ मेगावाटसम्म पुगेको थियो, यसपालि १ हजार ४ सय ७० मेगावाट बिजुली चाहिने प्राधिकरणको अनुमान छ।

‘यो पनि ग्राहकहरूले अनावश्यक बिजुली नबाली सहयोग गर्नुहुन्छ भन्ने आशामा गरिएको प्रक्षेपण हो,’ प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले भने, ‘ग्राहक मितव्ययी भएनन् भने माग अझै बढ्न सक्छ।’ माग बढे पनि प्राधिकरणले हिउँदमा देशभरि लोडसेडिङ नगर्ने लक्ष्य लिएको छ। पोहोर लक्ष्मीपूजाबाट काठमाडौं आसपासमा लोडसेडिङ हटेको थियो भने पछि पोखरा, विराटनगर लगायतका सहरलाई लोडसेडिङ मुक्त पारिएको थियो।

यसपालि निजी क्षेत्रका आयोजनाबाट ६० मेगावाट बिजुली थपिएपनि प्रर्याप्त नभएकाले लोडसेडिङ हटाउन भारतमाथि थप निर्भर हुनुपर्ने भएको छ। प्रवक्ता अधिकारीका अनुसार यसपालि भारतबाट थप ८५ मेगावाट बिजुली किन्ने प्राधिकरणको तयारी छ। पोहोर भारतबाट ३ सय ८५ मेगावाटसम्म बिजुली आयात भएकोमा यसपालि ४ सय ७० मेगावाट बिजुली आयात गर्नु पर्ने भएको हो।

प्राधिकरणले नयाँ बनेका दुई प्रसारण लाइन कटैया–कुशहवा रक्सौल–परवानीपुरबाट १ सय , टनकपुर–महेन्द्रनगरबाट ३५, सुरजपुरा–गण्डकबाट ३५, ढल्केबर–मुजफ्फपुरबाट १ सय ३०, पुरानो कटैया–कुशहवाबाट १ सय ३० र विभिन्न साना प्रसारण लाइनबाट ४० मेगावाट बिजुली भारतबाट आयात गर्ने योजना बनाएको छ। मंसिर दोस्रो सातासम्म भारतबाट ३ सय ७ मेगावाट बिजुली आयात भइरहेको छ। अहिले देशभित्र प्राधिकरणले ३ सय ५० र निजी क्षेत्रबाट २ सय ८३ मेगावाट बिजुली उत्पादन गरिरहेका छन्।

‘भारतबाट थप बिजुली ल्याएर यो हिउँदमा देशैभरि बिजुली नकाट्ने गरी काम गरिरहेका छौं,’ अधिकारीले भने, ‘यति गर्दा पनि पिक आवरमा ३ सय मेगावाट बिजुली पुग्दैन। त्यसलाई मिलाउन उद्योगमा ३ देखि ५ घन्टा लोडसेडिङ हुन सक्छ।’ पोहोर पनि औद्योगिक क्षेत्रमा बिहान र बेलुका बिजुली कटौती भएको थियो।

माघमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना बनेपछि भने माग व्यवस्थापनमा केही राहत हुने अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *