दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

काठमाडौं, मंसिर १३ ।
दाङको तुलसीपुरमा मंगलबार अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो ।

समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीकोे निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उनलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि माग गर्दछौं ।’

कांग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न समेत सरकार समक्ष माग गरेको छ ।

बम विष्फोटमा गम्भीर घाइते भएका सुरक्षाकर्मी तुलसीपुर उपमहानगरपालिका १८ का चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *