शिल्पीमा उदाए भानु

काठमाडौँ ,१२ मंसिर । भानुभक्त आचार्यको नाम नसुन्ने नेपालीभाषी सायदै छैनन् होला । उनको जीवनीका वारेमा धेरैलाई धेरथोर थाहा छ पनि । तर उनको बालककालदेखि जीवनको अन्तिम क्षणसम्मको जीवनकथालाई मञ्चमा हेर्न पाइने भएको छ । शिल्पी थिएटरको गोठाले नाटक घरमा आरम्भ कलाकारहरुको समूहले लोकदृष्टि थिएटरको सहकार्यमा आदिकवि भानुभक्तलाई ‘रात चिन्र्या भानु’ नाटकमार्फत् शिल्पीमा ल्याइपुर्याएको हो ।

‘सबैको कर्म फरक हुन्या हो, सानो या ठूलो हुन्या हैन’ भन्दै बिर्के टोपी, दौरा सुरुवाल, रातो टिका र छड्के पटुका कसेर आएका भानुभक्त घाँसीले कुवा खनाएको थाहा पाएपछि आफूले चैँ युगयुगसम्म रहने कुनै काम गर्न नसकेकोमा आत्मग्लानि गर्छन् । उनकै प्रेरणाबाट शास्त्रका सार बोलीचालीको भाषामा ल्याउने विचार गर्छन् र रामायणका श्लोकहरुलाई प्रचलित नेपाली भाषामा अनुवाद सुरु गर्छन् ।

आदिकविको भेषभूषामा ठाँटिएर देखापरेका कलाकार प्रकेश सिन्धुलीयलाई पहिलो झलकदेखि नै दर्शकले भानुभक्त आचार्यकै स्वरुप मान्न बाध्य हुन्छन् । उनको भेषभूषा, भाषा, खस लवज हाउभाउका साथमा निपूर्ण अभिनयले दर्शकलाई दुई सय वर्ष अघिकै परिवेशमा पुगेको भान गराउँछ । हजुरबा श्रीकृष्ण रमेश दाहाल र हजुरआमा चाँदनी शाहीको रेखदेख र शिक्षादिक्षामा हुर्किएका साना भानुभक्त प्रभात निरौला बीचको आत्मियताले काशीसम्म पुग्ने मौका पाएका भानुभक्त फर्केर फेरि चुँदी आएर खेतिपाति र भाषा साहित्यको उत्थानमा लागिपर्छन् । उनकी धर्मपत्नीको भूमिकामा रहेकी साक्षी लम्सालले भानुलाई साथ दिन्छिन् । बालककालदेखिको साथी चिबे प्रल्हाद खरेल र भरिया राजन भुजेल को अभिनयले दर्शकको मन छोइराखेको हुन्छ । घाँसीको भूमिकामा देखिने अनुभवी रंगकर्मी वासुदेव खनालले घाँसीको चरित्रलाई न्याय गरेका छन् ।
घाँसीको नाम र परिचय खोज्नका लागि लागिपरेका उनका शुभचिन्तक प्रेम पौडेल ले भानुभक्तको जीवनीको गहिराईसम्म पुगेर घाँसीको महत्व र खास परिचय खोज्न निस्केको सन्दर्भबाट सुरु भएको नाटकमा भानुभक्तका जीवनीका आरोह अवरोहहरुलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । कोरसको सुमधूर भाका र प्रस्तुतिले दर्शकको मन तानिरहन्छ ।
भानुभक्तको जीवनीका प्रमुख प्रसंग र घटनाक्रमहरु समावेश गरी तयार गरिएको नाटकको लेखन तथा निर्देशन प्रभाकर न्यौपानेले गरेका हुन् । नाटकमा मानस राज, पुष्प अवस्थी, राधा श्रेष्ठ,कमल बोहरा, मेलिना गुरुङ, श्रेया भुषाल, वीरेन्द्र खाती लगायतका कलाकारहरुले अभिनयमार्फत् आफू अब्बल रहेको पुष्टि गरेका छन् । नाटक ‘रात चिन्र्या भानु’ आइतबारदेखि प्रदर्शनमा आइरहेको छ भने मंसिर १६ गते शनिबारसम्म बेलुकी ५ बजे शिल्पीको गोठाले नाटकघरमा प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *