बाढीपीडितलाई जाडोमा सरकारको उपहार, प्रतिपरिवार २५ हजार

काठमाडौं, मंसिर १२ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्षको बाढीबाट प्रभावित तराईका जिल्लाका पीडितलाई राहतस्वरुप प्रतिपरिवार रु १५ हजार वितरणको जिम्मेवारी पाएको छ।

मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणले जिम्मेवारी प्राप्त गरेपछि प्रक्रिया प्रारम्भ गरेको हो। बाढी तथा डुबानबाट पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरपरिवारलाई राहत वितरण गर्ने सरकारले निर्णय गरेको छ।

त्यसैगरी बाढीबाट प्रभावित सबै पीडितलाई जाडोबाट जोगाउन न्यानो कपडा किन्नका लागि प्रतिघरपरिवार अलग्गै रु १० हजारका दरले अनुदान उपलब्ध गराउने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ।

प्राधिकरणमार्फत सञ्चालन हुने अनुदानको वितरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले गर्नेछन्। यस वर्षको बाढीबाट अतिप्रभावित १८ जिल्लाका १३४ को ज्यान गएको थियो। बाढीबाट भएको क्षतिको पुनःनिर्माणका लागि रु ७३ अर्ब २२ करोड ४८ लाख लाग्ने राष्ट्रिय योजना आयोगद्वारा तयार गरिएको बाढीपछिको पुनःस्थापना आवश्यकता आँकलन प्रतिवेदनमा अनुमान गरिएको छ।

आयोगका अनुसार बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा रु ६१ अर्ब ८४ करोड ४८ लाख बराबरको क्षति पुर्याएको थियो। बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न गत कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण मातहत रहने गरी बाढी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना गठन गरेको थियो। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *