डब्लुसिएल च्याम्पियनसिप आगामी साता सकिँदै, मसिंर २० र २२ मा नेपालले युएई विरुद्ध खेल्ने

काठमाडौं, मङ्सिर १२ ।
दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप आगामी साता सकिँदै छ। च्याम्पियनसिपको अन्तिम चरणका आठ वटै खेल आगामी मंसिर २० र २२ मा युएईमा हुँदै छन्। च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।

नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्। स्कटल्यान्ड, हङकङ र केन्याका खेल निर्णायक खेल भए पनि नेपाल र युएईबीचको ‍ खेलले डब्लुसिएलको अंकगणितमा कुनै फरक पार्नेछैन। किनकि दुवै टिम डिभिजन–२ मा झरिसकेका छन्।

अंकतालिकामा फरक नपारे पनि युएई विरुद्धको खेललाई नेपालले डिभिजन–२ को तयारीको रुपमा लिएको छ। ‘दुवै प्रतिस्पर्धामा हामी आफ्नो नेचुरल खेल खेल्छौ’, टमाटाले भने,’हामीले युएईसँगको खेललाई डिभिजन–२ को तयारीको रुपमा लिएका छौं।’

डिभिजन–२ आगामी फेब्रुअरीमा नामिबियामा हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *