सप्तरीमा सेनाद्वारा शक्तिशाली टाइम बम निस्कृय, शंकास्पद दुई व्यक्ति प्रहरी नियन्त्रणमा

सप्तरी, मंसिर १२ ।
सप्तरीको राजविराज-कुनौली सडकखण्डस्थित रन्जितपुरमा फेला परेको शक्तिशाली टाइम बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय नजिकै फेला परेको शक्तिशाली बमलाई सेनाले निस्कृय पारेको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने योजना बनाइरहेको अवस्थामा स्थानीय नहर छेउबाट प्रहरीले सोमबार राती बम बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले शंकास्पद दुई जनालाई चेकजाँच गर्दा उनीहरुका साथबाट अत्याधुनिक रिमोट फेला परेको र उनीहरुकै बयानका आधारमा अनुसन्धान गर्दै जाँदा बम फेला परेको प्रहरीले जनाएको छ ।

बमसँगै आरडिएक्स नामक विष्फोटक पाउडर करिब दुई किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । राजविराज नगर क्षेत्रमा कुनै व्यक्तिको घरलाई लक्षित गरी विस्फोट गराउने योजना रहेको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ । सो बम करिब एक किलोमिटरको दुरीबाट रिमोट थिचेर विस्फोट गराउन सक्ने खालको भएको प्रहरी उपरीक्षक सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *