हुम्लामा तारा एयरको विमान दुर्घटना, चालक दलका सदस्यसहित ७ जना घाइते

हुम्ला, मंसिर १२ ।
उडान भर्ने क्रममा हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना भएको छ ।
सिमकोटबाट सुर्खेतका लागि उड्न लागेको विमानको अगाडिको टायर पञ्चर भएपछि  धावन मार्गबाट उछिट्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार विमानमा चालक दलका तीन जना सदस्यसहित १६ जना सवार थिए । विमानमा सवार ७ जना घाइते भएका छन् । घाइते हुनेमा विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एयर होस्टेज श्रेया श्रेष्ठसहित प्रहरी सहायक निरीक्षकद्वय चित्रबहादुर विष्ट र किशोर ऐरी, प्रहरी जवानद्वय यमप्रसाद दाहाल र हस्तबहादुर सिंह छन् । घाइतेमध्ये तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा पूर्ण रुपमा क्षति पुगेको छ । विमान दुर्घटना भए पनि मानविय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एयर होस्टेज श्रेया श्रेष्ठसहित १३ जना सुरक्षाकर्मी सवार थिए ।

चुनावमा खटिएका सुरक्षाकर्मीलाई सुर्खेत छाड्न विमान त्यसतर्फ जाँदै थियो । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रसाद सिटौलाले दुर्घटनाग्रस्त विमानबाट इन्धन चुहिरहे पनि माटोमा परेकाले आगलागीको खतरा भने नरहेको बताए ।

दुर्घटनाग्रस्त विमानको पखेंटा विजुलीको तारमा परेको छ । विमानलाई सुरक्षित ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *