डब्लुसिएल च्याम्पियनसिप – युएई विरुद्ध खेल्ने नेपाली टोलिको घोषणा
काठमाडौं, मङ्सिर ११ ।
विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध हुने सातौं चरणको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
छनोट समितिले दोस्रो चरणमा परेका २० जनाबाट पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली सोमबार घोषणा गरेको हो। नेपाली टोलीको छनोट समितिमा आइसिसीका प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस थिए।
नेपाली टोलिमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लका अलावा शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन रहेका छन् ।
टिममा पुरानै खेलाडीको बाहुल्य छ। दिलीप नाथले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनले गत चैतमा भएको इमर्जिङ टिम्स कपमा सिनियर टिममा डेब्यू गरेका थिए। दोस्रो चरणमा परेका हसिम अन्सारी र सुशील कँडेल भने अन्तिम टिममा अटाएनन्।
मुख्य प्रशिक्षक जगत टमाटाका अनुसार नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ।
वैकल्पिक खेलाडीको रुपमा कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी टिमा अटाएकाछन् । ।वैकल्पिक खेलाडीको रुपमा रहेका अनिलकुमार साह र कुशल भुर्तेल पनि युएई जाने बताइएको छ।
नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि आउँदो शुक्रबार अमेरिका र आइतबार केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल अवुधावीको शेख जायेद रंगशालामा हुनेछ।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसैले अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीको रुपमा लिएका छन् ।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।